म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

रासस

सोमबार, ३० असार २०८२, १२ : ३८
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका-७ शिवाङको हेम नमूना आवासीय मावि, मंगला गाउँपालिका-२ बाबियाचौरको मंगला मावि, रघुगंगा गाउँपालिका-३ पिप्लेको रघुगंगा मावि र अन्नपूर्ण गाउँपालिका-६ घारको मुक्ति मार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।

रघुगंगा गाउँपालिका-४ दग्नामको जनता माविमा ११ र वडा नं ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको छ ।क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु. ४८ लाखको लागतमा प्रयोगशाला स्थापना भएको हो ।

विद्यालयको पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र पुस्तक राखिएको कम्प्युटरका साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि ब्याट्री र इनभर्टर पनि जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए।

गत वर्ष धवलागिरि गाउँपालिका-४ मुदीको बुद्धि विकास मावि, रघुगंगा-३ मौवाफाँटको ज्ञानोदय र अन्नपूर्ण-४ को प्रभा माविमा ‘सर्भर सिस्टम’बाट चल्ने २०र२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको थियो ।

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई ‘डिजिटल’ साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । प्रविधिको प्रयोग गरेर पठनपाठन गराई विद्यार्थीको पढाइप्रति रुचि र सिकाइ उपलब्धि वृद्धि गर्ने कम्प्युटर प्रयोगशाला स्थापना गर्नुको उद्देश्य रहेको छ ।

विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने मुक्ति मार्ग मावि घारका प्रअ रामकृष्ण खड्काले बताए । कम्प्युटर प्रयोगशाला स्थापनाका लागि फर्निचर, फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनको काम भने विद्यालयहरूले नै गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस