८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १६ : २१
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक वृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । ८० वर्षीया मातादेवी शाहीको शव मंगलबार बिहान सवा ८ बजे आफ्नै घरभित्रै खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

शाही आफ्नै दुईतले घरको माथिल्लो तलामा एक्लै बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार उनको छातीमा धारिलो हतियारको प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न सकेको छैन । अनुसन्धानको सिलसिलामा तालिमप्राप्त कुकुरको सहयोगमा घटनास्थलको निगरानी गरिए पनि अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस