स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १० : ३३
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा । सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए। 

‘स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।’

गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, ‘स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस