व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो : डा‍. शशाङ्क कोइराला

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, ०९ : ०८
व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो : डा‍. शशाङ्क कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १  बाट  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रुपमा उनको जन्म २०१५ साल कात्तिक ८ गते विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुन् ।

विसं २०४६ र २०६३ मा जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा रहेका नेता कोइरालाले चिकित्सक पेसाबाट बाहिरिएपछि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, दुई पटक केन्द्रीय सदस्य हुँदै १३औँ महाधिवेशनमा पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हाले । पूर्वमहामन्त्री कोइराला २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य तथा २०७४ साल र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।  सालिन र सरल स्वभावको परिचय बनाएका नेता कोइराला पार्टीभित्र आफूलाई साझा व्यक्तित्वकारुपमा अघि बढाइरहेका छन् ।

प्रतिनिधिसभा सदस्य कोइरालासँग संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत समसामयिक विषयमा गरिएकाे अन्तर्वार्ताको सम्पादित अंश :

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

अहिले संसद् चलिरहेको छ । सदनले अस्ति भर्खरै आर्थिक वर्ष २०८२-८३ को बजेट पास गरेको छ । त्यसअघि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए । संसद्को गतिविधिसँगै पार्टीको काम पनि गरेको छु । बिहानैदेखि राजनीतिक भेटघाटमै व्यस्त छु । अब केही दिनमै पार्टीको केन्द्रीय समितिको बैठक छ । मुख्यगरी संसद् र पार्टीको काममै व्यस्त छु ।  

अहिलेको संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?

प्रजातन्त्रमा सन्तुलन हुनुपर्छ । एउटा सत्ता पक्षीय पार्टी हुन्छ, अर्को प्रतिपक्ष । प्रतिपक्षी पार्टीले सतर्क गर्ने काम गर्छ । सत्ता पक्षीय पार्टीले प्रतिपक्षलाई प्रश्न गर्ने ठाउँ दिनुपर्छ । अहिले शक्तिशाली सरकार छ । हामीलाई एउटा डर छ, कि शक्तिशाली सरकार धेरै नै शक्तिशाली भयो भने विरोधको मतलब गर्दैन । प्रतिपक्षी पार्टीको प्रश्नलाई बेवास्ता गर्छ । त्यसैले सरकार सन्तुलित हिसाबले जानुपर्छ । प्रतिपक्षको पनि कुरा सुन्नुपर्छ । जायज माग पूरा गर्नुपर्छ । प्रतिपक्षलाई दबाउने, बोल्न नदिने, कुरा नसुन्ने गर्न हुँदैन । लोकतन्त्रको लागि यो राम्रो कुरा होइन । किनभने सरकारले प्रतिपक्षसँग समन्वय गर्नुपर्छ । कुनै पनि विषयमा निर्णय गर्दा प्रतिपक्षको पनि भावना अङ्कित हुनुपर्छ । 

संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?

हामीले राष्ट्रलाई विकेन्द्रीकरण गरेका छौँ । सात प्रदेश बनाएका छौँ । तर, शासन अहिले पनि केन्द्रीकृत नै छ । व्यवहारिक रुपमा विकेन्द्रीकरण गरेनौँ । प्रदेशलाई के चाहिन्छ भन्ने कुरा प्रदेशले नै निर्णय गर्न पाउनुपर्छ । सङ्घले त्यसमा हस्तक्षेप गर्नु भएन । प्रदेशको संरचना हेरेर के गर्दा उपयुक्त हुन्छ, त्यो अनुसार उसले नै आफ्नो योजना बनाउँछ । तर, यहाँ सङ्घबाट प्रदेशमाथि हस्तक्षेप गरिएको छ । यो राम्रो होइन । कि त हामी सङ्घीयतामा जान हुन्थेन । पहिलो कुरा, सङ्घीयतामा आर्थिक भार पर्यो भन्ने गरिएको छ । आर्थिक भार हामी आफैँले गराएका छौँ । विकेन्द्रीकृत गरेपछि उनीहरुलाई खर्च पनि दिनुपर्छ । सबै केन्द्रले गर्ने होइन । प्रदेशलाई थाहा छ, कहाँ–कहाँ खर्च गर्नुपर्छ । त्यो अधिकार पनि प्रदेशलाई नै दिनुपर्छ । दोस्रो कुरा, समानुपातिक प्रतिनिधित्व राम्रो हो । तर त्यो प्रतिनिधिसभामा होइन, राष्ट्रियसभामा हुनपर्ने हो । प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधि मात्रै बस्नुपर्छ । मेरो दृष्टिकोणमा यो गलत भएको छ । तेस्रो कुरा, इन्टरनेशनल अफियर्स विपी कोइरालाले सुरु गरेको हो । उहाँले भारत र चीनसँग समदुरी राख्नुपर्छ भन्नुभएको थियो । यद्यपि, भौगोलिक दृष्टिकोणले निकटता भारतसँग छ । तर सन्तुलित सम्बन्ध राख्नुपर्छ । 

संविधान संशोधनको विषयमा तपाईँको धारणा के छ ?

हरेक दश वर्षमा संविधानको रिभ्यु हुनुपर्छ । तर, कुन विषयमा संशोधन गर्ने हो, त्यो विषयमा छलफल हुनुपर्यो । किन संशोधन गर्ने भन्ने विषयको आधार तय गर्नुपर्छ । केका लागि र किन परिवर्तन गर्ने ? कसैको मनमा लाग्यो अनि परिवर्तन गर्ने भन्ने हुँदैन । सन् १७८५ मा अमेरिकामा ५५ जनाले चार महिनामा लेखेको संविधान हो । आजसम्म त्यही संविधान छ । सन् १९८५ तिर एक चोटी मात्रै संशोधन भएको छ । सुरुमा केही संशोधन गरियो, तर झण्डै २०० वर्षदेखि त्यही संविधान लागू भएको छ । सन् १९८४ मा पारिश्रमिक वृद्धि गर्नुपर्छ भनेर संशोधन गरियो । त्यसपछि संशोधन भएको छैन । ती ५५ जना दूरदृष्टि भएका मानिस थिए । हामीले पनि त्यसरी काम गर्नुपर्यो । त्यसकारण हामी संशोधनभन्दा कार्यान्वयनमा जानुपर्यो ।  कार्यान्वयन भएकै छैन । अनि अहिले नै संशोधन गरिहाल्ने कुरा हुँदैन । विकेन्द्रिकरणलाई साच्चिकै विकेन्द्रीकरण गरौँ । 

सङ्घीय संरचनालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ ?

संविधानमा भएको दुई-तीन वटा कुरा मात्रै परिवर्तन हुँदैन । त्यो भनेको अन्तरराष्ट्रिय नीति, सेना, मुद्रा र राष्ट्रिय झण्डामा परिर्तन हुँदैन । यदी अरु विषयमा संशोधनको आवश्यकता हो भने छलफल हुनुपर्यो । सङ्घले मुठी कस्ने होइन । लौ गर भनेर सातवटै प्रदेशलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।  

देशमा सुशासनकाबारे उठेको प्रश्न सम्बोधन गर्न के गर्नुपर्छ ?

सबैभन्दा पहिला मानिसलाई विवेकशील बनाउनुपर्छ । मेरो एक जना दाइ जापान जानुभएको थियो । उहाँले आफ्नो ब्याग जापानको एउटा कुनै सहरमा छोड्नुभयो ।  तर, एक हप्ता पछि जाँदा पनि त्यो ब्याग जहाँ छोडेको हो, त्यही ठाउँमा थियो । त्यहाँका मानिस विवेकशील छन् । उनीहरु यो मेरो ब्याग होइन भन्ने कुरामा सचेत छन् । हामीले त्यो किसिमको समाज निर्माण गर्नुपर्यो । यो कुरा शिक्षासँग पनि सम्वन्धीत छ । हामीले कस्तो किसिमको शिक्षा दिइरहेका छौँ । डाक्टर, इञ्जिनियर, पाइलट र वकिल मात्रै बनाएर हुँदैन । उनीहरुलाई विवेकशील पनि बनाउनुपर्छ । डाक्टरले बिरामीलाई पूर्ण रुपमा निको पारेको दिन सन्तुष्ट हुनुपर्छ । मैले एक लाख जनाको आँखाको अपे्रशन गरेँ । मेरो सन्तुष्टि भनेको मेरो बिरामीले आँखा देखेको दिन हुन्छ । मेरा लागि पैसाभन्दा पनि बिरामी निको हुनु सन्तुष्टि हो । हामी पैसाको मात्रै कुरा गर्ने हो भने नैतिक रुपमा पतन हुन्छौँ । मानिस भ्रष्ट भएर जान्छ । अहिले भ्रष्टाचारको विषय पनि आइरहेको छ । भ्रष्टाचार नैतिक पतन हो । भ्रष्टाचार विवेक नभएको मानिसले मात्रै गर्छ । त्यसकारण सुशासनका लागि मानिसमा विवेक हुनुपर्छ । यही मानिसमा नैतिकता र विवेक हुने हो भने सुशासन यतिकै कायम हुन्छ । 

देशको राजनीतिक व्यवस्थामाथि भइरहेको टीका–टिप्पणीप्रति तपार्इँको भनाइ के छ ? 

राजालाई विपीले धेरै मान्नु हुन्थ्यो । आठ वर्ष जेल बस्नुभयो । त्यहीँ पनि राजालाई मान्नुभयो । गिरिजाप्रसाद कोइरालाले पनि राजा मान्नुभयो । उहाँले बेवी किङको कुरा पनि ल्याउनुभयो । पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले सबै हड्पिसकेपछि राजाको ठाउँ रहेन । यस्तो अवस्थामा राजा कसरी ल्याउने ? कि त राजपरिवारभन्दा बाहिरबाट ल्याउनु प¥यो । त्यो पनि सम्भव छैन । राजा नै ठीक छैन भने हामीलाई किन राजा चाहियो ? यो सम्भव छैन । 

राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति अहिले जनतामा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

देशमा अहिले हामीले आत्मसात् गरेको शासन व्यवस्था नराम्रो होइन । मेरो विचारमा कार्यान्वयन तहमा रहेका व्यक्ति ठीक भएनन् । कुनै पनि व्यवस्था आफैमा वेठीक हुँदैन । व्यवस्थामाथि शासन गर्ने व्यक्तिले व्यवस्थालाई असफल बनाउने हो । प्रणाली (सिस्टम) मा त्रुटी छैन । नेपालका लागि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै उत्तम हो । आजसम्म योभन्दा उत्तम अर्को व्यवस्था हुनै सक्दैन । त्यसकारण हामीले व्यवस्थालाई प्रश्न गर्ने होइन । गलग ढङ्गले व्यवस्था सञ्चालन गर्ने व्यक्तिलाई प्रश्न गरौँ । 

शासन व्यवस्था परिवर्तन हुँदैगर्दा जनताको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

मेरो विचारमा पछिल्लो ४० वर्ष यता सबैभन्दा गोल्डेन इरा भनेको २०४८ सालदेखि २०५१ सालसम्म थियो । यो समय गिरिजाप्रसाद कोइरालाको समय थियो । त्यति बेला सञ्चार तथा सूचना प्रविधि, सडक, हवाई क्षेत्र र चिकित्सा क्षेत्रमा धेरै विकास भएको छ । त्यो बेला लिएका कतिपय नीतिगत निर्णयका आधारमा अहिले प्रत्येक नागरिकको हातहातमा मोबाइल छ । यति धेरै हवाईजहाज उडेका छन् । मेडिकल कलेजको सङ्ख्या ह्वात्तै बढेको छ । यसको आधार निर्माण गर्ने काम गिरिजाप्रसादबाटै भएको हो । उहाँले मध्यावधि नगराएर पाँच वर्ष पूरा नेतृत्व गर्नुपथ्र्याे, त्यहाँ गल्ती भएको छ । त्यसकारण जनताको अवस्था परिवर्तन गर्न नेताको आचरण परिवर्तन भए पुग्छ । नेताको आचरण नै ठीक छैन भने जनताको अवस्था कसरी परिवर्तन हुन्छ ? नेताहरु नै भ्रष्ट भए भने के हुन्छ ? अनि व्यवस्थालाई दोष दिएर हुन्छ ? 

नेताहरुको भ्रष्टाचारको विषय पनि आइरहकेको छ, यो बारेमा के भन्नुहुन्छ ?

भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न सकिन्न । भ्रष्टाचार शून्य गर्न सम्भव पनि हुँदैन । तर, न्यूनीकरण भने गर्न सकिन्छ । विश्वका सम्पन्न र सुशासनमा उदाहरण प्रस्तुत गरेका मुलुकमा पनि भ्रष्टाचार हुन्छ नै । मैले भ्रष्टाचारको विषय संसद्मा पनि बालेको थिए । तपाईँ अहिले सय रुपैयाँ घुस खानुहुन्छ भने अब एक रुपैयाँ मात्रै खानुस् भनेको थिए । अरु देशमा घुस खाए पनि अत्यन्त कम खान्छन । तर यहाँ जति पनि खाइदिने संस्कार छ । भ्रष्टाचार न्यूनीकरण गर्न कानुनको कार्यान्वयन तथा नेता इमान्दार र पारदर्शी हुनुपर्छ ।

देशलाई आर्थिक रुपपमा सम्पन्न बनाउन के गर्नुपर्ला ?

सबैभन्दा पहिला नेपाललाई समृद्ध बनाउन हामीसँग के–के छ, त्यसको पहिचान गर्नुपर्यो । देशलाई आर्थिक रुपमा बलियो बनाउने भनेको पहिलो कृषि हो । नेपालमा १७ लाख हेक्टर खेतियोग्य जमिन छ । त्यसले तीन करोड होइन, ३० करोड जनतालाई खान पुग्छ । हामीसँग कृषि योग्य माटो छ । हामीले कृषकलाई कहिले पनि प्राथमिकतामा राखेनौँ । कृषिमा बजेट पहिले चार प्रतिशत रहेकामा अहिले २० प्रतिशत भएको छ । अर्को ऊर्जा हो जसमा काम भइरहेको छ । हामीसँग पानी छ । पानीबाट बिजुली निकालेर संसारलाई बेच्न सक्छौँ । हामी पर्यटनको हिसावले पनि धनी छौँ । बलिउड फिल्म सुटिङका लागि स्वीजरल्याण्ड जान्छन् तर नेपाल पनि प्राकृतिक रुपमा त्यो भन्दा कम छैन । त्यसका लागि गुणस्तरीय सेवा सुविधा छैन । किनभने त्यहाँ पैसा खर्च गर्ने ठाउँहरु छन् । तर यहाँ छैन । देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने यी क्षेत्रलाई थप व्यवस्थित र विकास गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस