लोपोन्मुख वनकरियाको फेरिएको जीवनशैली

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, ०७ : ४५
लोपोन्मुख वनकरियाको फेरिएको जीवनशैली

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अति लोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले बिस्तारै पक्की घरमुनि बास बन्न थालेका छन्। शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो।

घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बनेकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ। उनका दुई छोरा विद्यालय जान्छन् भने उनी पनि दिनभर साबुन बनाउनमा व्यस्त हुन्छिन्। 

प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहकी उनलाई उद्यमी बन्न ग्रिन फाउन्डेसन नेपाल नामक संस्थाले सिकाएको बताउँछिन् । 

उनी भन्छिन्, “पहिला बोल्नसमेत डर लाग्थ्यो, आजकल आफ्नो उत्पादनको विज्ञापन गर्न सक्ने भएकी छु”, उनी थपछिन्, “साबुन बनाउने तालिम मात्र होइन कतिमा उत्पादन गर्ने, अनि कतिमा बिक्री गर्ने र कसरी प्रचार गर्नेसमेत तालिम दिएकाले सक्षम भएकी हुँ ।” उनको समूहमा २१ जनाले साबुन उत्पादन गरिरहेका छन् । आम्दानीसँगै जीवनशैली परिवर्तन भएको बताउँदै उनी अहिले वनको कन्दमूल रहरले खाने गरेको बताउँछिन्।

त्यसैगरी ७० वर्षीय हस्तबहादुर वनकरिया हाल खेतीबाट छ महिना खान पाउने र बाँकी समय अन्य कामसँगै साबुन व्यापारले राम्रो भएको बताउँछन् । कन्दमूल खोज्ने र माछा मारेर जीवन धान्ने गरेका उनी करिब २० वर्ष अगाडिबाट बस्तीमा बस्न थालेका हुन भने हाल खेतीमा व्यस्त बन्ने गरेका छन् । त्यसैगरी माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेको बताउँछन् । साबुन उत्पादनले उनलाई जीवन धान्न सजिलो बनाइ दिएको छ।

बस्तीका महिलाले खोला किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जीवनयापन भएका उक्त जातिका लागि मसिने शान्ति सामुदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसँगै खेर गइरहेका तीतेपातीको प्रयोग गरेर उद्यमी बन्न प्रेरित भएका हुन्।

सन्तोषी वनकरियाले यो जाति भूमि पूजक भएर पनि किन जग्गाधनी पुर्जा नपाएकामा दुःख व्यक्त गर्दै सरकारले भूमिहीन बनाउन नमिल्ने बताउँछिन् । विसं २०६२ मा २० वर्षका लागि दिइएको कागजको समय २०८२ वैशाखमा सकिएको छ । हाल समय सकिएको जग्गामा बसिरहेको र उक्त जग्गामा अधिकार नभएको उनको भनाइ छ। 

उनी भन्छिन्, “मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ, जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौँ न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ, व्यवसाय दर्ता गर्न नै नपाएपछि तीन महिना काम रोकियो, वडाध्यक्षले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो, सधैँ हामी यसरी नै कतिन्जेल चल्ने ?” उनलाई हाल चिन्ता भनेको जग्गामाथिको स्वामित्वमा रहेको छ।

त्यसैगरी, स्थानीय सङ्गीता वनकरियाले आफ्नो समुदायका लागि भत्ता होइन, रोजगारी चाहिएको बताइन्। लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ताभन्दा बढी हुने उनले बताइन्। उनी भन्छिन्, “सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निःशुल्क पढाइदिएको बताउँछिन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फी बुझाइरहेका छौँ । यसका लागि हामीले कसलाई भन्नुपर्ने हो ?” उनले राज्यले दिने भनेको निःशुल्क शिक्षासमेत नपाएकामा दुःख व्यक्त गरिन् । उनलाई पनि सन्तोषीलाई जस्तै जग्गाको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस