राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’मा

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १५ : ३८
राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’मा

काठमाडौँ । पछिल्लो समयको चर्चित कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ अतिथिको रूपमा पुगेका छन् ।

शुक्रबार प्रसारण हुने ‘कमेडी दरबार’को मंगलबार भएको छायाङ्कनमा उनीहरु एकसाथ अतिथिका रूपमा सहभागी भएका हुन् । कार्यक्रम सेटमा लिङ्देन र ओलीलाई एकसाथ देख्दा उपस्थित दर्शकहरूले पनि निकै मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा पछिल्लो समय राप्रपाले गर्दै आएको राजावादी आन्दोलन र कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश गरेको विषय कार्यक्रममा व्यङ्ग्यको विषय बनेको थियो ।

पछिल्लो समयको लोकप्रिय शोमा आफू अतिथि भएर आउन पाउँदा खुसी लागेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले नेताहरूलाई रमाइलो ढङ्गबाट गरेको व्यङ्ग्यसँगै कलाकारहरूको प्रस्तुति उत्कृष्ट रहेको बताए ।

एमाले नेतृ ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आज आफूमाथि नै व्यङ्ग्य भएको देख्दा अझ आफूलाई रमाइलो लागेको बताइन् ।

सुटिङमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका थिए भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा देखिएका थिए । कलाकार पवन खतिवडा म्याकुरी कोमल ओली बनेर देखिएका थिए ।

श्रद्धा प्रसाईँले निर्देशन गर्दै आएको सो बिक्कि अग्रवाल र सजिना खनालले सञ्चालन गर्दै आएका छन् ।आज छायाङ्कन भएको शो आगामी शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युब मार्फत प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस