ट्रम्पको आक्रमण, चीनको साथ

एजेन्सी

विहीबार, २० पुस २०७४, ०८ : १९
ट्रम्पको आक्रमण, चीनको साथ

'चीन र पाकिस्तान जहिल्यै निकै राम्रा रणनीतिक साझेदार रहेका छन् । चीन विभिन्न क्षेत्रमा पाकिस्तानसित सहयोग बढाउन तयार छ ।’

ट्रम्पको आक्रमण, चीनको साथ
अमेरिकाले पाकिस्तानको साथ छाडेको समयमा चीन भने आफ्नो पुरानो मित्र पाकिस्तानको साथमा उभिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बितेको दशकमा पाकिस्तानलाई दिइएको सहयोगलाई ‘मूर्खतापूर्ण’ बताएका थिए । त्यससँगै अमेरिकी प्रशासनले पाकिस्तानमाथि ‘दोहोरो खेल’ खेलेको आरोप लगाएको थियो । साथै, उसले पाकिस्तानलाई दिने भनिएको १६ सय २१ करोडको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । तर, यस्तो अवस्थामा पाकिस्तानको मित्र चीनले उसलाई साथ दिने बताएको छ ।

जहिल्यै पाकिस्तानको साथ
पाकिस्तानमा रहेका चिनियाँ दूतावासका प्रवक्ता लिजिआन जिआओले ट्विट गरेर भनेका छन् कि चीन जहिल्यै पाकिस्तानको साथमा उभिनेछ र उसलाई सहयोग जारी राख्नेछ । उनले आफ्नो ट्विटमा अगाडि भनेका छन्– हामीले यसअघि धेरैपटक भनिसकेका छौँ कि पाकिस्तानले चरमपन्थसित जुध्नका लागि कैयौँ महत्वपूर्ण प्रयास र त्याग गरेको छ । अन्तर्राष्ट्रियस्तरमा चरमपन्थविरोधी गतिविधिमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसलाई पहिचान गर्न सक्नुपर्छ ।

प्रवक्ता जिआओले ट्विटमा अगाडि थप लेखेका छन्– चरमपन्थविरुद्धको लडाइँमा सहयोगका लागि हामी पाकिस्तान र अन्य देशको स्वागत गर्छौं । साथै, हामीले अन्य क्षेत्रको सुरक्षा र स्थिरताको पनि सम्मान गर्नुपर्छ । चीन र पाकिस्तान जहिल्यै निकै राम्रा रणनीतिक साझेदार छन् । चीन विभिन्न क्षेत्रमा पाकिस्तानसित सहयोग बढाउन तयार छ । जसबाट दुवै देशले अधिक लाभ लिन सक्नेछन् ।

‘भारतलाई खुसी बनाउन ट्रम्पको ट्विट’
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ– अ‍ेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई खुसी बनाउन पाकिस्तानविरुद्ध ट्विट गरेका हुन् । उसको रिपोर्टमा लेखिएको छ कि अमेरिका आफ्नो इन्डो–प्यासिफिक रणनीतिमा भारतका साथ आफ्नो महŒवपूर्ण साझेदारी निर्वाह गर्नका लागि यस प्रकारका ट्विट गरिरहेको छ ।

‘सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिज’ मा एसिया प्यासिफिक सेन्टरका निर्देशक जाओ ग्यानचेङले भनेका छन्– ट्रम्पका सबै आरोप आधारहीन छन् । उनले यस्तो वक्तव्य दिनु गलत हो । उनले अगाडि भनेका छन्– ९-११ को आक्रमणपछि पछिल्ला १५ वर्षदेखि पाकिस्तानले लगातार अमेरिकालाई सहयोग गरेको छ । पाकिस्तानको सहयोगबाटै अमेरिकी सैनिक अफगानिस्तानको धर्तीमा चरमपन्थविरुद्ध लड्न सकेको हो । र, अझै पनि पाकिस्तानले यस कार्यमा अमेरिकालाई अत्यावश्यक सहयोग गरिरहेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेन सुआङले एक प्रेस संवादमा भनेका छन् कि चरमपन्थसित लड्ने कार्यमा पाकिस्तानले निकै महत्वपूर्ण भूमिका निभाएको छ । ऊ चरमपन्थविरुद्ध चलिरहेको अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा पनि अत्यावश्यक सहयोगी हो । ग्लोबल टाइम्सको रिपोर्टमा लेखिएको छ कि ट्रम्पको यो ट्विट चीन–अफगानिस्तानका विदेशमन्त्रीहरूको डिसेम्बरको अन्त्यमा भएको बैठकपछि आएको छ । यस बैठकमा चीन र पाकिस्तानको इकोनोमिक करिडोरबारे कुराकानी भएको थियो । जिआओ भन्छन्– ट्रम्प आफ्नो ताजा व्यवहारबाट भारतलाई आफ्नो तर्फ गराउन चाहन्छन् । यसबाट इन्डो–प्यासिफिक रणनीतिमा अमेरिका–भारत–जापान–अस्ट्रेलियाको गठबन्धन बनाउन सहयोग पुग्नेछ ।

‘आफ्नो भूमिको रक्षामा सक्षम’
पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले भनेका छन्– पाकिस्तान आफ्नो भौगोलिक निष्ठासित सम्झौता गर्न सक्दैन । र, हामी आफ्नो भूमिको सुरक्षा गर्न सक्षम छौँ । पाकिस्तानले अफगानिस्तानको सीमातर्फ बार लगाउने काम सुरु गरेको छ । किनकि, हामी सीमापार आवागमनलाई व्यवस्थित गर्न चाहन्छौँ । उनले थप अगाडि भनेका छन्– हरेक दिन ६० देखि ७० हजार मानिस पाक–अफगान सीमा पार गर्छन् । यसका लागि आवागमनको व्यवस्थापनमाथि ध्यान दिनु जरुरी छ । पाकिस्तानले पछिल्ला कैयौँ दशकदेखि अफगानी शरणार्थीलाई शरण दिँदै आएको छ । र, अब उनीहरूको स्वदेश फिर्ती हुने समय आएको छ । विदेशमन्त्री ख्वाजा आसिफले अगाडि भनेका छन्– अमेरिकाले अफगानिस्तानमा करोडौँ डलर खर्च गरेको छ । त्यसैले, अब उसले अफगानी शरणार्थीलाई उनीहरूको मातृभूमिमा स्थापित गर्ने कार्यमा सहयोग गर्नु आवश्यक छ ।
बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी डट कम-हिन्दीबाट

प्रतिक्रिया दिनुहोस