तीनकुने प्रकरणमा मिश्र र राणा ‘फरार प्रतिवादी’, प्रहरीलाई पक्राउको बाटो खुला

'उनीहरूलाई फरार सूचीमा राखी पक्राउ पूर्जी जारी गरिसकिएको हो'

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, ०९ : २७
तीनकुने प्रकरणमा मिश्र र राणा ‘फरार प्रतिवादी’, प्रहरीलाई पक्राउको बाटो खुला

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूद्वारा आयोजित प्रदर्शन हिंसात्मक भएपछि त्यसमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवल शम्शेर राणाविरुद्ध फेरि पक्राउका लागि बाटो खुला भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ‘फरार प्रतिवादी’ को रूपमा सूचीबद्ध गरेसँगै प्रहरीले अब मिश्र र राणालाई पक्राउ गर्ने बाटो खुला भएको हो । रविन्द्र मिश्र र धवल शम्शेर राणा सुरुमा हाजिरी जमानीमा रिहा भएका थिए । मिश्रको रिहाइ सर्वोच्च अदालतको आदेशमा भएको हो, जहाँ उनकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइपछि अदालतले अनुसन्धान सकिएको भन्दै रिहा गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जेठ २ गते मिश्र वकिलको जिम्मामा छुटे । उता, राणा भने वैशाख ७ गते स्वास्थ्य उपचारको कारण देखाउँदै प्रहरीले हाजिरी जमानीमा छोडेका थिए ।

तर छुटेपछि अदालती प्रक्रियामा सहभागी हुने सर्तमा रिहा गरिएका मिश्र र राणा सम्पर्कविहीन छन् । बारम्बार अदालतमा उपस्थित हुन भनिएपनि नआएकाले अदालतले उनीहरूलाई फरार प्रतिवादी घोषणा गरेको छ । यसै आधारमा प्रहरी अब उनीहरूलाई खोजी गरी पक्राउ गर्न स्वतन्त्र भएको अदालत स्रोतले जनाएको छ । अदालती आदेश अनुसार अभियोग दायर भएको दिनमै उनीहरूलाई फरार सूचीमा राखी पक्राउ पूर्जी जारी गरिसकिएको हो ।

तीनकुने काण्डपछि देशभर राजसंस्था समर्थक आन्दोलनप्रति बढ्दो राजनीतिक ध्रुवीकरण भइरहँदा त्यसको नेतृत्व गरेका शीर्ष नेताहरू अदालती प्रक्रियाबाट पलायन भएकोप्रति चिन्ता बढेको छ । कानुनी प्रक्रिया बेवास्ता गर्दै फरार बन्नु उनीहरूको नैतिक, राजनीतिक र संवैधानिक उत्तरदायित्वमाथिको गम्भीर प्रश्नको रूपमा हेरिएको छ ।

तीनकुने काण्डपछि देशभर राजसंस्था समर्थक आन्दोलनप्रति बढ्दो राजनीतिक ध्रुवीकरण भइरहँदा त्यसको नेतृत्व गरेका शीर्ष नेताहरू अदालती प्रक्रियाबाट पलायन भएकोप्रति चिन्ता बढेको छ । कानुनी प्रक्रिया बेवास्ता गर्दै फरार बन्नु उनीहरूको नैतिक, राजनीतिक र संवैधानिक उत्तरदायित्वमाथिको गम्भीर प्रश्नको रूपमा हेरिएको छ ।

यस घटनाले राप्रपाको नेतृत्व तथा आन्दोलनको उद्देश्यप्रति पनि आलोचनात्मक दृष्टिकोण बढाएको छ । आदेश लेखनमा संलग्न शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, मिश्र र राणाबारे पहिले नै आवश्यक आदेश भइसकेकाले अब नयाँ आदेश आवश्यक छैन । अब प्रहरीले रविन्द्र मिश्र र धवल शम्शेर राणालाई पक्राउ गरी अदालतमा पेश गर्नुपर्नेछ । त्यसपछि मात्र घटनासम्बन्धी कानुनी निष्कर्षतर्फ प्रक्रिया अघि बढ्नेछ ।

तीनकुनेमा राजसंस्थाको पूर्नस्थापनाको माग राखेर गत १५ चैतमा राजावादीहरुले हिंसात्मक घटना गर्दा ५६ वटा घर, कार्यालय र संस्थामा तोडफोड तथा आगजनी भयो । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको घटनास्थलमै ज्यान गएको थियो ।

गोली लागेर घाइते भएका २० जना सुरक्षाकर्मीमध्ये तीनजना अझै अस्पतालमा उपचाररत छन । उनीहरूमा उदयपुरकी रेबिका खत्री, भोजपुरका डिल्लीप्रसाद लुइँटेल र काभ्रेका रामहरि (रिदम) श्रेष्ठ छन् ।

प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले ७० भन्दा बढीलाई पक्राउ गरेको थियो । तीमध्ये ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ भने ७ जनालाई थुनामा पठाइएको छ ।

अदालतमा पेश भएको घटनासम्बन्धी आदेश १५५ पृष्ठ लामो छ । यसमा घटनाको विवरण, दोषीको पहिचान, प्रहरी अनुसन्धान, बयानहरू, क्षतिको विवरण र अदालती कारबाहीका पाइला विस्तारपूर्वक समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस