हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकै ठाउँ छौँ : रास्वपा

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : १९
हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकै ठाउँ छौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाबाट आफूहरू ब्याक नहुने स्पष्ट पारेको छ । सत्तारुढ दलसँग सहमतिको लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले दुई बुँदे ड्राफ्ट तयार पारेको चर्चाबीच रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो ।

माओवादीले यसअघि नै अख्तियारले गरेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र भिजिट भिसा अध्यागमनहरूमा देखिएको विभिन्न समस्याको सन्दर्भमा संरचनात्मक सुधारको निम्ति काम गर्ने प्रस्ताव अघि सारेको थियो ।

जसमा सत्तापक्ष पनि तयार भइसकेको हिजो एमालेका सचिव योगेश भट्टराईले बताएका थिए । तर, रास्वपाको प्रस्तावमा छलफल नै नहुने उनको भनाइ थियो । सत्तापक्षले भने प्रश्न उठिसकेपछि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान अझै कायमै राखेको छ ।

तर, रास्वपाले गृहमन्त्रीको राजीनामा नै बटमलाइन बनाइसकेपछि कुरा मिल्न सकेको थिएन । माओवादीको दुई बुँदे ड्राफ्टमा चित्त नबुझेपछि आफूहरूले पाँच बुँदे प्रस्ताव अघि सारेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

उनले हिजो बसेको विपक्षी दलको बैठकले पाँच बुँदे प्रस्तावमा सबै दलले साथ दिइसकेको दाबी गरे । उनले आज ३ बजे सदन बस्नुअघि थप छलफलको लागि विपक्षी दलको बैठक बस्ने पनि बताएका छन् ।

माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङबाट फर्केपछि विपक्षी दलको बैठक बस्ने तयारी छ । विपक्षीलाई मनाउन काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निरन्तर छलफल चलिरहेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीको अडान कायमै रहेको बताएका छन् ।उनले फेसबुकमा पार्टीको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘छिटो संसद् खुलोस् भन्ने चाहन्छ तर यसका लागि भिजिट भिसा काण्ड बारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिई छानबिनलाई सघाउनुपर्ने कुरामा स्पष्ट छ । पछिल्लो घटनामा भिजिट भिसामा जाने १ लाख ४० हजार युवाहरूमध्ये अधिकांशसँग रकम असुल भएको तथ्यहरू बाहिर आइरहँदा र भिजिट भिसा काण्डको भ्रष्टाचार रकम बाँडफाँटको लागि सफ्टवेयर नै बनाएर राखिएको विषय गम्भीर छ ।’

गृहमन्त्रीले भिजिट भिसा काण्डमा अख्तियारले छानबिन सुरु गरेपश्चात् नजानिँदो हिसाबले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय सरुवा गर्ने, भिजिट भिसा काण्ड अनुसन्धान गर्ने डिआइजीलाई अख्तियारबाट सरुवा गर्ने र दबाब बढेपछि त्यही रात फिर्ता गर्ने लगायतका कामहरू शंकास्पद भएको उनको जिकिर छ ।

उनले थपेका छन्, ‘गृहमन्त्रीको सचिवालयसमेत संलग्न भएका लगायत यससँग सम्बन्धित अनुसन्धानमूलक समाचारहरू प्रकाशनमा आएका छन् । यति विघ्न शंकास्पद गतिविधिहरू हुँदै गर्दा गृहमन्त्रीलाई जोगाउने जुन षड्यन्त्र भइराखेको छ आम नागरिकलाई सह्य छैन । तसर्थ यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको अडान कायमै छ ।’

संसदमा प्रतिपक्षी दलहरू समेत आफूहरूले उठाएको कुरामा समर्थन जनाइसकेको भन्दै उच्चस्तरीय छानबिन गर्ने र गृहमन्त्रीले निष्पक्ष छानबिनलाई सघाउन पदबाट राजीनामा दिने अडान यथावत् रहेको बताएका छन् ।