विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, १४ : ३५
विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन

नवलपरासी । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरेका छन् । आज नवलपरासीको सेमरीमा एक कार्यक्रमका बीच ऊर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रूपमा सेटिलिङ्ग बेसिनको उद्घाटन गरेका हुन् । अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिचाई हुँदै आएको थियो ।

२०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि चौधरीले नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्दै आएका थिए । यो नहर सांसद चौधरीको निर्वाचन क्षेत्रमा पर्दछ ।

पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए । ‘नेपाली नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ,’ उनले भने, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईँहरूको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन गरेको छ । यो पर्याप्त छैन । हामीले अझै धेरै गर्नु छ ।’

किसानका समस्याप्रति आफू सधैँ संवेदनशील रहेको र भविष्यमा किसानका लागि प्रभावकारी परियोजनाहरू नवलपरासीले पाउने पनि चौधरीले बताए । सांसद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि ऊर्जामन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस