काठमाडौ । “कहिल्यै लाग्दैनथ्यो, म यति ठूलो नर्सरी चलाइरहेको छु भनेर,” कालिकोट खाँडाचक्र नगरपालिका–६ मोल्फाका २५ वर्षीय विकास शाही केही क्षण सोचेर मुस्कानसाथ भने, “८ हजार रुपैयाँ लिएर एउटा सानो प्लास्टिक टनेल बनाएर सुरु गरेको थिएँ ।”
सायद, त्यही दिन हो- जब उनले जीवनमा आफ्नै मिहिनेत, आफ्नै सीप र आँटको खेती गर्न थालेका । कृषि विषयमा तीनवर्षे अध्ययन पूरा गरेका विकासको सपना भने जागिरे बन्ने नै थियो । कृषि प्राविधिकको हैसियतमा 'इकोहिमाल' नेपालमा जागिरका लागि आवेदन दिए । तर दुर्भाग्यवश छनोट भएनन् । त्यो पल उनलाई असाध्यै पीडाबोध भयो । केही क्षणका लागि सपना चकनाचुर भएझैं भयो । तर त्यही बेला 'इकोहिमाल' का कार्यकारी निर्देशक नारायण ढकालले उनलाई दिएका थिए जीवन मोड्ने सल्लाह - “तपाईंको ज्ञान खेतीमै लगाउनुहोस्, आफ्नै नर्सरी सुरु गर्नुहोस् ।”
यही एउटा सल्लाह विकासका लागि टर्निङ प्वाइन्ट बन्यो । आफ्नो गाउँको एउटा भिरालो जमीनमा उनले सानो नर्सरी सुरु गरे । अहिले ६ वर्षको यात्रा पार गरेर उनी एक सफल कृषक मात्र होइन, कालिकोट जिल्लाकै अनुकरणीय युवा उद्यमी बनेका छन् । ९० लाख रुपैयाँ बराबरको कृषि सम्पत्ति निर्माण गरेका विकासले आफ्नो अनुभवलाई अब अरूसम्म पुर्याउने बाटो रोजेका छन् ।
उनी भन्छन्, “बिदेश जान लागेका साथीहरू, एकचोटि मेरो फर्म हेरेर मात्र निर्णय लिनुस् । विदेशमा १४ घण्टा काम गर्नुको सट्टा, यहाँ ४ घण्टा मिहिनेत गर्दा पनि आम्दानी सम्भव छ ।”
आज उनका १४ वटा प्लास्टिक टनेल छन् । जसमा ओखर, देवदार, टिमुर, कागती, सुन्तला, धुपी लगायतका हजारौं बिरुवाहरू हुर्किइरहेका छन् । कुनै समय भिरालो जमिन भएर उपयोगमा आउन नसकेको त्यो ठाँउ आज हरियालीले ढाकिएको छ । नर्सरी मात्र होइन, उनले झन्डै १८ लाखको लगानीमा प्लास्टिक टनेल उत्पादन गर्ने आधुनिक कारखाना पनि सञ्चालनमा ल्याएका छन् । त्यहाँ थुप्रै किसिमका उपकरण, मेसिन छन्, जुन जिल्लामै उदाहरणीय बनेका छन् ।
आफ्नै मिहिनेतको आम्दानीले आत्मगौरव मिलेको अनुभव छ उनलाई । हरेक वर्ष कम्तीमा १० लाख रुपैयाँ आम्दानी हुन्छ । “पहिला जमिन सम्याउन खर्च धेरै लाग्यो, कारखाना बनाउँदा सोचेजस्तो सजिलो थिएन,” उनी भन्छन्, “तर आज म गर्व गर्छु, किनभने त्यो मिहिनेत बेकार गएको छैन ।”
'इकोहिमाल' नेपालकै ४ लाख ५० हजार रुपैयाँको सहयोग र आफ्नै लगानीमा उनले स्थापना गरेका छन् ‘इकोविकास कृषि सिकाइ केन्द्र’। अब त्यो केन्द्रबाट उनी अन्य युवाहरुलाई पनि व्यावसायिक कृषि सिकाउँदै छन् । उनी तरकारी खेती र पशुपालन पनि विस्तार गर्ने तयारीमा छन् ।
तर विकासको कथा यत्तिले मात्र टुंगिँदैन ।
उनको सपना आफ्नै खेतबारीसम्म सीमित छैन । उनी भन्छन्, “बिदेश जान लागेका साथीहरू, एकचोटि मेरो फर्म हेरेर मात्र निर्णय लिनुस् । विदेशमा १४ घण्टा काम गर्नुको सट्टा, यहाँ ४ घण्टा मिहिनेत गर्दा पनि आम्दानी सम्भव छ ।”
एक सानो सल्लाह, एउटा दृढ निणर्य र निरन्तर प्रयास, यही हो विकास शाहीको सफलता सूत्र । उनको नर्सरीमा हरियाली मात्र छैन, भविष्य छ । त्यो भविष्य जुन उनले आफैं निर्माण गरेका छन् —साहस, सीप र सम्भावनाको मलजलले ।
नेपालका युवाहरूले हेर्नैपर्ने एउटा जिउँदो उदाहरण हुन् विकास शाही । खेती गरेर पनि देशमै सम्भावना छ भन्ने सन्देश दिने नाम हो ‘विकास’ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
सर्लाहीका किसानलाई मौरीका ५३२ घार वितरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
अनुदान नपाएपछि दूध बेच्न किसान आफैंले किने ‘ट्रक’