झापा । झापाको मेचीनगर नगरपालिकाका घरपालुवा पशुमा अफ्रिकन स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण देखिएको छ । मेचीनगर–२, ३, ७, ८, ९ र १४ मा लम्पी स्किन देखिएको छ । मेचीनगर–६ को बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लुको संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
“लम्पी स्किन र स्वाइन फ्लुको संक्रमण पुष्टि भयो,” उनले भने, “नगरको पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका लागि सातजना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोसी प्रदेश र संघीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।”
पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार, गाई र बाच्छीहरूमा लम्पी स्किनको संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तुको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका निम्ति फिनेललगायत सामग्री वितरण गरिएको बताए ।
संक्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले जानकारी दिए ।
लम्पी स्किनले थप जोखिम नहोस् भन्नाका निम्ति संक्रमण देखिएको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखिने राईले बताए । यो रोग संक्रामक भाइरसबाट फैलिने गर्छ ।
यस्तै, मेचीनगर–६ स्थित बबिता बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लुका कारण ८० बंगुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट मरेका बंगुरमा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।
“फार्ममा अचानक बंगुर मरेको खबर आएपछि त्यसको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो,” उनले भने, “प्रयोगशालाबाट आएको रिपोर्टमा अफ्रिकन स्वाइन फ्लु पुष्टि भयो ।”
फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० बंगुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १० : १८
लेखकबाट थप