काठमाडौँ । दलित समुदायमाथि उत्पीडन बढ्दै गएकोले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने आयोजकले बताएका हुन् ।
आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।
सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने जानकारी दिए ।
सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले २१ औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा बर्सिनु दुर्भाग्य भएको बताए । देशमा भएको लामो सङ्घर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै उनले भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ । यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ ।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नि शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनको लागि काठमाडौँ आउने क्रम जारी रहेको जानकारी दिँदै, सम्मेलन दलित मुक्तिको लागि कोषेढुङ्गा साबित हुने विश्वास लिए ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले ७ दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै विचारीकी र नवीन आन्दोलनको आवश्यकता रहेको बताए ।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : २७
लेखकबाट थप