पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भुसाल

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०८२, १४ : ४८
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भुसाल

बुटवल ।  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको उनको भनाइ छ ।

गृहजिल्ला रूपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई बदलाको भावनाले अगाडि बढाइएको बताए । ‘ओली जि आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ, त्यही सिलसिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्दा चलाइएको हो’, उनले भने ।

उनले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्षमाथि पनि त्यही नियति दोहोरिएको बताए । ‘८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण  बनाउन खोजिएको छ, त्यो पूरा हुदैन’, उनले भने ।

उनले पार्टीमाथि भएको आक्रमणलाई चिर्न अनुरोध गरे । उनले वर्तमान नेतृत्व असफल हुदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल ऐजेन्डा हुनुपर्ने बताए । उनले वर्तमान सरकारकै कारण सडकमा पुनरउत्थानवादी शक्ति देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस