भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०८२, १५ : ०६
भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् ।

तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन्।सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस