कृषि तथा वन विज्ञान विश्वविद्यालयको आन्दोलन नरोकिने

सोमबार, ०३ मंसिर २०७५, १७ : २८
कृषि तथा वन विज्ञान विश्वविद्यालयको आन्दोलन नरोकिने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा शुरु भएको आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी तथा प्राध्यापकहरुले चेतावनी दिएका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थी र प्राध्यापकहरुले सोमबार कलेजमा पत्रकार सम्मेलन गरी कृषि शिक्षाको गुणस्तरीयताको सुनिश्चितताको लागि शुरु भएको आन्दोलन कुनै दबाव र दमनले नरोकिने जानकारी दिएका हुन् ।
संविधानले नै मौलिक हकको रुपमा व्याख्या गरेको शिक्षा क्षेत्रमा मौलाउँदै गइरहेको व्यापारीकरणले आमजनताको शिक्षामाथिको पहुँचमा नियन्त्रण गर्न खोजिएको उनीहरुको आरोप छ । मेडिकल हुँदै कृषि शिक्षामा भित्रिरहेको यस्तो विकृतिको समूल अन्त्यको लागि सम्पूर्ण सरोकारवाला, शुभचिन्तक लगायत पत्रकारहरुसँग सहयोगको अपेक्षा राखेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 
सम्माननीय सर्वोच्च अदालतको आदेशलाई अन्तरिम आदेश भनी अपब्याख्या गरी आगामी पुस २६ गते अर्काे पेशी रहेर अन्तिम फैसला समेत आउने परिस्थिति बनेकोमा त्यो फैसलालाई प्रभावित पार्ने नियतले विश्वविद्यालयले निजी कलेजलाई समेत समेटेर भर्ना फाराम भर्न आह्वान गरेको विरोधमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी लगायत प्रायः सबै प्राध्यापकहरु आन्दोलनरत रहेका छन् ।
शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरी, आन्दोलनरत पक्षलाई उक्साउने र आन्दोलनलाई दमन गर्न खोज्ने जस्ता गैह्रजिम्मेवार गतिविधिले विश्वविद्यालयमा प्रतिकुल परिस्थितिको सृजना भएको आन्दोलनकारीको दाबी छ । २०७५ साल असार २० गते देशका विभिन्न आठ वटा निजी कलेजका नाममा कृषि तथा वन विषयमा बाँडेको अस्थायी सम्बन्धन गत साउन १४ गते बसेको मन्त्रिपरिषदको बैठकले सम्पूर्ण रुपमा रद्द गरेको थियो । अहिले निजी कलेजहरुले विद्यार्थी भर्ना अभियान जारी राखेपछि प्राध्यापक तथा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव डा. शंकरराज बर्सिला र नेपाल प्रगतिशिल प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदितप्रकाश सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा गलत निर्णयहरु गर्दै जाने, सरोकारवालाहरुलाई निषेध गर्ने, शान्तिपूर्ण आन्दोलनमा निर्मम र अमानवीय रुपमा प्रहरी प्रशासनको दुरुपयोग गर्ने, आन्दोलनरत पक्षले लगाएको तालाबन्दी तोड्ने, विज्ञप्तिहरु प्रहरी लगाएर च्यात्ने, आन्दोलनरत विद्यार्थीहरुलाई धरपकड गर्ने, लाठी चार्ज गर्ने र अनावश्यक रुपमा तारिखमा अल्झाउने क्रियाकलापको हामी घोर भत्र्सना गर्न चाहन्छौं ।’
 

प्रतिक्रिया दिनुहोस