काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ भ्रमण सकेर स्वदेश फर्किएकी छन्।
चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर डा. राणा गएराति स्वदेश फर्किएकी हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएको हो।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए। उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ।
यसै कार्यक्रमका सिलसिलामा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा राणाले दिइन्।
उनले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन्।
मन्त्री डा. राणाले भन्नुभयो “यसवर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ परेकोले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ।”
मन्त्री डा राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङ्गकङ्गस्थित नेपालका महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण