५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई माधव नेपालको सुझाव

बुधबार, १९ पुस २०७४, १६ : २७
५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

बुधबार रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, त्यसरीनै कांग्रेसले पनि ठान्ने गरेको छ ।’ यो  कांग्रेसको पहिलैदेखिको बानी हो ।

‘शेरबहादुरजी अत्तालिनु हुँदैन । धेरै चिन्ता नगर्नुस्, विरामी पर्नुहोला’ देउवासँगै कांग्रेस नेताहरुको नाम लिँदै नेपालले भने, ५ वर्ष काम गर्न दिनुस् । तपाईबाट रचनात्मक सुझावको अपेक्षा गरेका छौं, खबरदारी गर्नुहोला  ।

नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको बताए । यद्यपि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए । उनले  भने, ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?

यद्यपि वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार हुन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरे । ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए ।

सरकार गठनमा ढिलाइ भइरहेको भन्दै उनले पार्टी एकता प्रक्रियालाई तिव्रता दिनु पर्ने बताए । बैचारिक, राजनीतिक र सैद्दान्तिक विषयमा छलफल गरेर सहमति र विमतिका विषय तय गर्नु पर्ने भन्दै उनले त्यसमा समस्या नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस