धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’को प्रधानमन्त्री ओलीले गरे शिलान्यास

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १५ : ४८
धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’को प्रधानमन्त्री ओलीले गरे शिलान्यास

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एन्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

उक्त अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ ।

सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुईपक्षीय हस्ताक्षर भएको थियो ।यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इक्युना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

 

 

 

 

 

 

 

आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ ।सेन्टरमा पार्किङ, आईसीयू, ३ वटा अप्रेसन थिएटर, एचडीयू, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरू उपलब्ध हुने छ ।

यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख छ ।

शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद गोकुलप्रसाद बास्कोटालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस