श्रद्धाञ्जलि

सम्झनामा समाजसेवी सूर्यबहादुर मास्के

सूर्यप्रकाश कँडेल

आइतबार, ०२ मंसिर २०७५, १२ : ११
सम्झनामा समाजसेवी सूर्यबहादुर मास्के

अठार वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौंमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएका चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्के अब हामीबीच हुनुहुन्न । १९९२ साल मंसिरमा भोजपुर जिल्लामा जन्मनु भएका मास्केको गत कात्तिक २० गते उपचाररत अवस्थामा भरतपुरस्थित एक अस्पतालमा निधन भयो ।

शारीरिक अस्वस्थताको कारण मास्केले आफ्नो जीवनको पछिल्लो समय नारायणगढमा रहेको घरको आफ्नै कोठामा दिन बिताउँदै आउनु भएको थियो । त्यही अवस्थामा जेठ २ गते कुराकानीको लागि म उहाँको निवास पुगेको थिएँ । करिब दुई घण्टा लामो कुराकानीका क्रममा उहाँले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने कुरादेखि आफ्नो विगत सबै सुनाउनु भयो । कुराकानीको बीचमा औषधि सेवन गर्नुभयो । उहाँसँग मैले कुराकानी गरेको अर्को दिन जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भयो । पार्टी एकता भएकै दिन मास्केसँगको कुराकानी सफल खबर डट कममा प्रकाशित भएको थियो ।

आफूले कम्युनिष्ट पार्टीको सदस्यता लिने बेला सिंगो रहेको कम्युनिष्ट पार्टी समयक्रममा चिराचिरा भएको देख्दा उहाँको मन दुखेको रहेछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुराले निकै हर्षित मास्केले अब नेपालका सबै कम्युनिष्ट पार्टी एक हुनुपर्ने विचार व्यक्त गर्नु भएको थियो । २०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंमा विद्यार्थी युनियनको अध्यक्ष रहनु भएका मास्केले २०१३ सालमा शिक्षक तालिम लिएपछि गोरखामा पढाउन थाल्नुभयो । काठमाडौंबाट सुरु गरेको वामपन्थी राजनीति उहाँले पुख्र्यौली थलो गोरखामा छाड्ने कुरै भएन । जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउने काममा लाग्नु भएका मास्केलाई एमाले र माओवादी केन्द्रमात्र नभई नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता भएको हेर्ने इच्छा थियो ।

‘नेपाल कम्युनिष्ट पार्टीले बम राख्यो रे, बिस्फोट गरायो रे भन्ने सुन्नु नपरोस्’ रोगले थलिएर ओछ्यान पर्नु भएका उहाँले कुराकानीका क्रममा ओछ्यानमा पल्टिएरै भन्नुभएको थियो, ‘विप्लवले वैद्यले पनि कि पार्टीको नाम फेर्नुप¥यो, कि एकतामा आउनु प¥यो ।’ जीवनको उत्तराद्र्धसम्म आइपुग्दा पनि साम्यवादको सपना नछाड्नु भएका मास्केले त्यतिबेला यस्तो भन्नु भएको थियो, ‘कम्युनिष्टहरुले जनवाद, जनवादपछि समाजवाद र समाजवादपछि साम्यवाद भन्दै आयौँ । कसैले कसैलाई अत्याचार नगर्ने, अन्याय नगर्ने, सबैले काम गरेर खाने, हाँसीखुसी जीवन बिताउने त्यस्तो अवस्था आउनु प¥यो ।’

डिठ्ठा साबका काहिँलो छोरा
आमा मायादेवीको कोखबाट जन्मनु भएका मास्केका बुबा दिलबहादुर डिठ्ठा हुनुहुन्थ्यो । सात जना दाजुभाइमध्ये काहिँला मास्केका चार जना दिदीबहिनी छन् । पुख्र्यौली घर गोरखा भएपनि बुबाको सरुवा जता हुन्थ्यो, त्यतै मास्केको बाल्यकाल बित्यो । २०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंबाट एसएलसी दिनु भएका मास्के त्यसपछि शिक्षा सेवामा प्रवेश गर्नुभयो ।

२०१६ सालमा चितवनको पिठुवा झर्नु भएका मास्केले २०१७ सालमा गोरखाकी इन्दिरा कायस्थसँग बिहे गर्नुभयो । बिहेअघि नै कम्युनिष्ट पार्टीमा सक्रिय इन्दिराको साथ पाएर मास्के कम्युनिष्ट आन्दोलनमा अघि बढ्नुभयो । शैक्षिक विकासमा पनि योगदान दिइरहनु भयो । श्रीमती इन्दिरा, जेठो छोरा सरोज र बुहारी रजनी र नातिनी श्रीजासँगै नारायणगढस्थित निवासमा बुढ्यौली दिन

बिताउनु भएका मास्के जीवनको अन्तिम समयसम्म पनि देश, विदेशमा के भइरहेको छ भनेर चासो लिन भने छाड्नु भएको थिएन ।
८३ वर्षको उमेरमा दिवंगत मास्केका जेठो छोरातिरका नातिनीहरु रिजा अमेरिकामा र सलोनी अस्ट्रेलियामा पढ्दै छन् । नाति शिरिष पनि अस्ट्रेलियामै अध्ययनरत छन् । उहाँको कान्छो छोरा मनोज, बुहारी कञ्चन, नाति रिजन र नातिनी रेशा अमेरिकामा छन् । मास्केकी एकमात्र छोरी समझ श्रेष्ठ पनि सपरिवार अमेरिकामै हुनुहुन्छ ।

खुर्सानी आन्दोलन
विद्यार्थी जीवनमा निकै क्रान्तिकारी स्वभावका मास्के विभिन्न आन्दोलनमा सहभागी हुनुभएको थियो । काठमाडौंमा खुर्सानी आन्दोलनमा सरिक हुनुभयो । २०१५ सालतिर नेपालको खुर्सानी भारत लगेर बेच्ने काम भयो भनेर त्यसको विरोधमा खुर्सानी आन्दोलन चर्केको थियो । आन्दोलनकै क्रममा एक दिन हनुमानढोका प्रहरी कार्यालय घेराउ गर्दा प्रहरीले गोली चलायो । त्यतिबेला मातृकाप्रसाद कोइरालाको सरकार थियो । प्रहरीले चलाएको गोली कोइरालाकै मान्छेलाई लाग्यो । त्यसपछि विद्यार्थीहरुको भागाभाग भयो ।

भोकमरी आन्दोलन
शिक्षक भएर गोरखामा रहँदा पनि मास्के आन्दोलनमा सहभागी हुनु भएको थियो । कांग्रेस नेतृत्वको सरकारसँग कम्युनिष्टहरुको झगडा परिरहन्थ्यो । यही क्रममा कम्युनिष्टहरुले भोकमरी आन्दोलन चलाए । त्यतिबेला अनिकालको बखत थियो । कसैको घरमा पनि खानेकुरा केही थिएन । भोकमरी आन्दोलनबारे प्रष्ट्याउँदै मास्केले मसँग भन्नुभएको थियो, ‘बडाहाकिमले बाढीपीडितलाई भनेर राखेको सरकारी रासन दिएनन् । ठूलो आमसभा भयो गोरखामा । पार्टीका ठूला नेता पनि आएका थिए तर केही बोल्न सकेनन् ।’

विद्यार्थी फेडरेसनको नेता भएकोले मास्केले पनि त्यो आमसभामा भाषण गर्ने मौका पाए । उनले अब सरकारी रासन लुटेर खाने, त्यसको पैसा तिर्ने हो भनी भाषण गरे । ‘हामीले रासन लुटेपछि हामीलाई जेल हाल्नु पर्छ । जेलमा रासनपानी दिनुपर्छ । त्यसैबाट बचाएर घरमा पनि पठाउन सकिन्छ’ भनेर उनले भाषण ठोकेपछि प्रहरीले लाठीचार्ज गर्न सुरु ग¥यो । मास लगाइएको नजिकैको बारीमा पसेर त्यतिबेला मास्केले ज्यान बचाए ।’

शैक्षिक जागरणमा अगुवा
शक्ति माध्यमिक विद्यालय गोरखाबजारमा शिक्षक हुँदा मास्के त्यही विद्यालयको सञ्चालक समिति सचिव पनि बनेका थिए । दुई वर्ष विद्यालय नछाड्ने शर्तमा शिक्षा कार्यालयबाट माध्यमिक विद्यालयको स्वीकृति ल्याउन सफल मास्केले त्यो वचन भने पूरा गर्न सकेनन् ।

यो २०१६ सालतिरको कुरा हो । चितवनमा राप्ती दून परियोजनाले जग्गा बाँडेको थियो । मास्के पनि जग्गा लिन चितवनको पिठुवा आइपुगे । तीन वटा प्लट मिलाएर १५ बिघा जग्गा दर्ता गराए । चितवन आगमनको किस्सा सुनाउँदै मास्केले त्यो भेटमा भन्नुभएको थियो, ‘त्यतिबेला चितवनमा जम्मा सात वटा प्राइमरी स्कुल थिए । जिल्ला शिक्षा सुपरभाइजर कार्यालयले मलाई निरीक्षकको रुपमा चितवनमै काममा खटायो । काउलेको डाँडादेखि ठोरीको फाँटसम्म दस वर्षजति विद्यालय खोल्ने अभियानमा खटिएँ ।’ २०१८ सालमा उपरदाङगढीमा रहेको बालकुमारी स्कुल नारायणगढमा सार्न मास्केको उल्लेखनीय भूमिका रहेको थियो ।

सरकारले अनिवार्य निःशुल्क शिक्षा अभियान ल्याएर ७५ प्रतिशत स्थानीयवासी र २५ प्रतिशत सरकारले ब्यहोर्ने गरी विद्यालय स्थापना गरी शिक्षकलाई काममा लगाउन थाल्यो । ‘जनताले पैसा दिन सकेनन् । मास्टरले भोको पेट कति दिन काम गर्ने ?’ शिक्षासेवी मास्केले त्यतिबेलाको समय सम्झँदै मसँगको भेटमा भन्नुभएको थियो, ‘समस्या समाधानका लागि सरकारले २०२८ सालमा नयाँ शिक्षा लागु ग¥यो चितवन र पोखरामा ।’

विद्यालय निरीक्षक हुँदा राम्रो काम गरेपछि मास्के सहायक शिक्षा अधिकारी बन्नु भएको थियो । त्यतिबेला योग्यताको आधारमा उनले शिक्षक नियुक्ति गरेकोले उनीसँग धेरै शिक्षक खुसी भए । २०३२ सालमा पशुपति शमशेर राणा शिक्षामन्त्री हुँदा शिक्षा विभागबाट पाँच सय रुपैयाँसहित मास्के सम्मानित हुनुभयो । त्यो पाँच सय रुपैयाँ तत्कालीन सिडियो र शिक्षा अधिकारी मिलेर भोजमा सिध्याइदिएको मास्केले हाँस्दै स्मरण गर्नुभएको थियो ।

सामाजिक क्षेत्रमा सक्रियता

राजनीति र शिक्षा क्षेत्रमा सक्रिय मास्के पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील रहनु भयो । जीवनको अन्तिम समयसम्म ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहनु भएका मास्के गोरखामा हुँदा बाल संगठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष हुनु भएको थियो । चितवनमा सुस्त मनस्थिति कल्याण संस्थाको संस्थापक उहाँको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्रज्योति संघ, लायन्स क्लब लगायतका संस्थामा रहेको थियो ।

राजनीति, शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील भई समाज रुपान्तरणका लागि उल्लेखनीय भूमिका खेल्नु भएका मास्के अब हामीबीच हुनुहुन्न । हामीसँग छन् त केवल मास्केले आफ्नो जीवनकालमा गर्नुभएका कामहरु र उहाँसँगका केही स्मरण । समाजको उन्नयनका लागि गरेका उल्लेखनीय कामले सदा जीवन्त रहने गरी महाप्रस्थान गर्नु भएका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केप्रति आज तेह्रौं दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया दिनुहोस