विराटनगर। मोरङको रंगेली नगरपालिकाले हुलाकी राजमार्गलगायतका सडकमा बिस्कुन (अन्नवाली) सुकाउन दिने भएको छ । सडकमा गाई-भैँसी तथा अन्य सामग्री राख्दा दुर्घटनाको कारक बनेको गुनासो बढिरहेका बेला नगरपालिकाले सडकमा बिस्कुन सुकाउन दिने सर्वदलीय गरेको हो ।
यात्रुवाहक तथा मालवाहक सबैखाले सवारी साधन गुड्ने व्यस्त सडकमा समेत नगरपालिकाले बिस्कुन सुकाउन दिने सहमति गरेको हो । नगरपालिकाकी उपप्रमुख झुमाकुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदीप साह, नेपाली कांग्रेसका जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमौरिया, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि प्रल्हादकुमार खतिवडा, किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधिसहितकोको सर्वदलीय बैठकले बिस्कुन सुकाउन दिने सहमति गरेको हो ।
सर्वदलीय सहमतिअनुसार हुलाकी राजमार्गको एक लेन सडक नढाक्ने गरी मकै सुकाउन पाइने छ । सडक ढाकेर बिस्कुन सुकाउँदा दुर्घटनाको सम्भावना बढ्नसक्ने भन्दै नगरपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको थियो ।
कसरी भयो बिस्कुन निषेध
रंगेली नगरपालिका– ७ निचामारीमा जेठ ५ गते एक १३ वर्षीया बालिकाको सडक दुर्घटनामा परी मृत्यु भयो । उक्त दुर्घटनाको मुख्य कारण सडकको बिस्कुन भएको निष्कर्ष निकालिएको थियो ।
बालिका अचानक सडक पार गर्न लाग्दा दुर्घटना भएको थियो। सडक पूरै मकैले ढाकिएको हुँदा चालकले बालिकालाई बचाउन नसकेको निष्कर्ष निकालिएको थियो ।
घटनापछि अनुसन्धान गर्दा सडक पूरै मकैले ढाकिएको र अचानक बाटो काटेकी बालिकालाई चालकले बचाउन नसकेका निष्कर्ष निकालिएको थियो ।
त्यसैको आधारमा रंगेली नगरपालिकाले सडकमा बिस्कुन सुकाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १५ : ५२
लेखकबाट थप