काठमाडौँ । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । मङ्गलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ । बालुवाटारमा आयोजित जनसंगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे । “झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्”, प्रधानमन्त्री ओलीले भने ।
उनले सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । “सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्”, उनले भने । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिएका छन् । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेले बताए ।
तालिमले व्यावसायिक र मर्यादित पत्रकारितामा योगदान पुर्याउने उनको दबी छ । “यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ, प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ, जिल्ला शाखाले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम राख्ने छन्”, उनले भने । प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो ।
पत्रकारहरूको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । संगठनमा सात हजारभन्दा बढी पत्रकार आबद्ध छन् । कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’