लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि : पर्यटनमन्त्री पाण्डे

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०८२, १४ : ५०
लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि भएको बताएका छन् । सोमबार २५६९औं बुद्व जयन्ती एवं लुम्बिनी दिवस २०८२ को मूल समारोहमा सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि हो । बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ,’ उनले भने । उनले बुद्व करुणा, ज्ञान, सद्भाव जस्ता शाश्वत शिक्षाले जीवनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभरि फैलाउन सकिएको बताए ।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन केन्द्रका रूपमा पहिचान गराउन सरकार प्रतिबद्व रहेको बताए । उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे ।

पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको दाबी गरे । काठमाडौं बाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागु भए पनि कार्यान्वयनमा अझै केही समस्या रहेको स्वीकार गरे । उनले आगामी जेठ ७ गते प्रधानमन्त्री सहित अन्तर मन्त्रालय बैठक बसी समस्या समाधान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस