अस्पताल भवन निर्माण अन्तिम चरणमा

रासस

शनिबार, २७ बैशाख २०८२, १३ : ३७
अस्पताल भवन निर्माण अन्तिम चरणमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।  

निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए। 

अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते रु छ करोड २४ लाख ५८ हजार १०३ मा एमके निरज जेभीले ठेक्का लिएको थियो । भवन निर्माणका लागि थप गरिएको म्याद गत मङ्सिरमै सकिएको छ । निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ । अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रङ्गरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ ।  

 

प्रतिक्रिया दिनुहोस