खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उनले भने,“हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।”
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नम्बर १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नम्बर ३ सावाकटहरेका चार, वडा नम्बर ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा नम्बर ६ इन्द्रणीपोखरीका छ, वडा नम्बर ७ खोटाङबजारका एक, वडा नम्बर ८ सिम्पानीका ११ र वडा नम्बर ९ लिच्कीराम्चेका नौ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिए । वडा नम्बर ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने उनले बताए ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएको गाउँपालिकाका अध्यक्ष राईले बताए । उनका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ बैशाख २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो
अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान