आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०८२, ०९ : २४
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।

उनले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास प्रवर्द्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गरे ।

‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस