चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०८२, ११ : ३९
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले संसद्मा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।

उनले राज्यका संयन्त्रहरूमाथि प्रश्न गर्दै कसरी एउटा व्यक्तिको रिसीवीका कारण मानिसलाई दुःख दिइन्छ भन्दै आक्रोश पोखिन् । ‘सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्’ रञ्जिताले भनिन्, ‘कसरी राज्यका सम्यन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानुनभन्दा माथि राख्छन् । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । घटनाको गहिरो अध्ययन होस् ।

 रेशमलाई राज्यले कार्यक्रम स्थलबाट कार्यक्रम सुरु हुनु पूर्व एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गरेको भनाइ रञ्जिताको थियो।

प्रतिक्रिया दिनुहोस