परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १३ : २८
परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको परोपकार पुलमुनी धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा आशिष श्रेष्ठ नामक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेकाे सम्बन्धमा जानकारी गराएको हो ।

बैशाख १६ गते बिहान करिब ११:३० बजे को समयमा काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनी एक व्यक्ति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोमा सोही दिन दिउँसो १२:२५ बजे उपचारको क्रममा मृत्यु भएको थियो। मृतक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नम्बर १० का अन्दाजी ४२/४३ वर्षीय बिक्रम तामाङ रहेको खुलेको छ।

प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गर्दै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुल्न आएपछि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नम्बर ७ स्थायी घर भई हाल डल्लु, काठमाडौंमा बस्दै आएका ३२ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जनसेवा प्रहरी वृत्त पठाइएको छ। प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु, मोबाइल फोन, झोला, सर्ट, पाइन्ट, जुत्ता र माक्स समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस