विश्वमा मधुमेहका बिरामी ४५ करोड

सूर्यप्रकाश कँडेल

बुधबार, २८ कार्तिक २०७५, १४ : १३
विश्वमा मधुमेहका बिरामी ४५ करोड

चितवन । आज १४ नाभेम्बर अर्थात् विश्व मधुमेह दिवस । पछिल्लो समय बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुटिओ)को आव्हानमा सन् १९९१ बाट विश्वभर नाभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो । विश्व मधुमेह दिवसको यस वर्षको नारा “परिवार र मधुमेह” रहेको छ । एक तथ्यांक अनुसार हाल विश्वमा मधुमेहका बिरामी ४५ करोड हाराहारी छन् । थप १० प्रतिशत मधुमेहको उच्च जोखिममा रहेका छन् । सन् २०३० सम्म पुग्दा प्रत्येक १० जनामध्ये एक जनामा मधुमेह रोग हुने अनुमान गरिएको छ ।  

समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय कन्सल्टेण्ट फिजिसियन डा. भोजराज अधिकारी असन्तुलित खानपानसँगैको विलासी जीवनको कारण दिनहुँ मधुमेह रोगीको संख्या बढ्दै गएको बताउँछन् । मधुमेहकै कारण अन्य नसर्ने रोगहरुबाट समेत मानिस प्रभावित भइरहेको उनको भनाई छ ।

विश्वमा सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी रहेको अधिकारीले बताए । उनले भने, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनले बताए । नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण नेपालमा मधुमेहका रोगीहरु ह्वात्तै बढेको उनले बताए ।

बि.सं. २०६७ सालमा सात जना बिरामीबाट आफूले उपचार शुरु गरेको बताउँदै अधिकारीले अहिले सात हजार हाराहारी मधुमेहका बिरामी आफ्नो निगरानीमा रहेको दाबी गरे । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिला मधुमेहका बिरामी भएको अधिकारी बताउँछन् । नेपालमा तीब्र गतिमा मधुमेहका रोगी बढ्दै गएको उनले बताए । मधुमेहले तत्काल हृदय घात, मस्तिष्क घात, मृगौला खराब, दृष्टि गुम्ने लगायतका समस्या ल्याउन सक्ने अधिकारी बताउँछन् ।

दीर्घकालीन रुपमा मधुमेहले बिस्तारै मृगौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मष्तिस्क घातसम्म पु¥याउने खतरा रहन्छ । मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलस्टोल भएका बिरामीलाई हृदयघातको जोखिम बढी हुन्छ । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अंगहरु आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुका नसाहरुमा असर पु¥याउन नसक्ने डा. अधिकारीको भनाई छ ।

“मानव शरीरमा रहेको प्याङक्रियाज ग्रन्थीले उत्पादन गर्ने हर्मोन इन्सुलिनको कम उत्पादन भएर वा इन्सुलिनले काम गर्न नसकेर रगतमा ग्लुकोजको मात्रा बढी भई देखिने रोगहरुको संग्रह नै मधुमेह हो” डा. अधिकारी भन्छन्, “मधुमेहले मुटु, मस्तिष्क, मिर्गौला, आँखाको रेटिना र स्नायु प्रणालीमा असर गर्छ ।” शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, ग्लुकोज र चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान डा. अधिकारीले सुझाव दिए । दैनिक १६०० देखि १८०० किलो क्यालोरीभन्दा बढी खान नहुने उनी बताउँछन् ।

उचाइ अनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनले सल्लाह दिए । असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह भएका रोगीको संख्या बढ्दै गएको उनी बताउँछन् । चिनी, चिल्लो र बोसोयुक्त प्रशोधित खानेकुरा नखान उनले सुझाव दिए । सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थबाट पनि बच्नु पर्ने उनले बताए । बेलुकाको खानाको मात्रा कटौती र धुमपान, मद्यपान नगर्नु नै उपयुक्त हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस