किमलाई ट्रम्पको जवाफ : तिम्रो परमाणु बटनभन्दा मेरो ठूलो छ

एजेन्सी

बुधबार, १९ पुस २०७४, ११ : ०१
किमलाई ट्रम्पको जवाफ : तिम्रो परमाणु बटनभन्दा मेरो ठूलो छ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको परमाणु बमको बटन उत्तर कोरियाली नेता किम जोङ उनको भन्दा ठूलो र शक्तिशाली रहेको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सो कुरा बताएका हुन् ।

केही दिनअघि किमले ‘परमाणु बटन जहिले पनि आफ्नो टेबलमा भएको’ भन्दै अमेरिकालाई चेतावनी दिएका थिए । उनले आफूसँग भएको परमाणु हतियारको निशानामा अमेरिका भएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि हमला गर्न नसक्ने बताएका थिए ।

जसको जवाफमा ट्रम्पले लेखेका छन्,
उत्तर कोरियाली नेता किम जोङ उनले ‘परमाणु बटन सधैँ आफ्नो डेस्कमा रहेको’ बताएका छन् । उनको कमजोर र भोकमारीले ग्रस्त राज्यबाट कसैले उनलाई भनिदिनु कि मसँग पनि परमाणु बटन रहेको, त्यो उनको भन्दा ठूलो र शक्तिशाली रहेको छ र, मेरो बटनले काम पनि गर्छ ।

 

परमाणु हतियारबारे दुई नेताको अभिव्यक्तिपछि धेरैले यसबारे चिन्ता व्यक्त गरेका छन् भने ट्रम्पका समर्थकले उनको ट्वीटको बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमा भने ट्रम्पको ‘आकार’ सँगको मोहको खिल्ली उडाएका छन् । यसअघि राष्ट्रपति चुनावको दौरान ट्रम्प र मार्को रुबियोबीच हातको आकारको बारेमा लामै विवाद भएको थियो ।

किम र ट्रम्पबीच यसअघि पनि वाकयुद्ध चलेको थियो । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिलाई बुढो भनेको थियो भने ट्रम्पले किमलाई लिटल रकेट म्यान भनेर बोलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस