बाग्लुङ। बागलुङका ४ वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ । क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ ।
गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पुर्याइएको हो ।
नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधिअनुसार चार पालिकामा क्षयरोग मुक्त अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
'क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जसका लागि क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै जानुपर्दछ, क्षयरोगसम्बन्धी सचेतना मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै गएपछि क्षयरोगी दिगो रूपमा कम हुँदै जान्छन्,' घिमिरेले भने, 'चालू आर्थिक वर्षमा नै जिल्लामा २०३ क्षयरोगी पत्ता लगेका छन्, उनीहरूले औषधि सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मूलनमा सहयोग पुग्दछ ।'
क्षयरोग मुक्त अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष एक ३३ जनामा क्षयरोग पत्ता लागेको थियो । बडिगाडमा अहिले क्षयरोगीको सङ्ख्या घटेर ४३ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी छ । यस्तै गलकोट नगरपालिकामा ३१ सक्रिय क्षयरोगी, बागलुङ नगरपालिकामा ३० सक्रिय क्षयरोगी रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चार पालिकामा अहिले एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने कार्यलाई तीव्रता दिइएको छ भने पालिकामा क्षयरोग संयोजक तोकिएको छ । पालिका प्रमुखको अध्यक्षतामा क्षयरोग मुक्त समन्वय समिति, वडास्तरीय समिति गठन गर्ने कार्य भइरहेको छ ।
ढोरपाटन नगरपालिकामा क्षयरोग मुक्त अभियान नचले पनि क्षयरोग पत्ता लगाउनका लागि एक्सरेमार्फत परीक्षण भने भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । क्षयरोग मुक्त अभियानका लागि स्वास्थ्य शाखामा एकाइ गठन गर्ने, पालिकास्तरीय क्षयरोग मुक्त अभियान समन्वय समिति गठन गर्ने र वडामा वडास्तरी समिति गठन गरिने छ ।
क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर कम गरेर शून्यमा क्षयरोगी झार्नका लागि अभियान सक्रिय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
नगरपालिकाका १४ वडामध्ये १२ वटा वडामा सूक्ष्म योजना निर्माण कार्य सम्पन्न भइसकेको खनालले जानकारी दिए । सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई तीव्रता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सक्रिय बन्दै बागलुङका न्यायिक समिति
२४ वर्षपछि सडक स्तरोन्नति
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री
बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी