इलाम । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन रहेको बताएकी छन् । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उनले सो धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।’ सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गरिन् ।
मन्त्री राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन् । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।
मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनको ‘राजदूत’ बन्न पनि आग्रह गरिन् । उनले भनिन्, “मेरो आग्रह छ कि यहाँबाट फर्किँदा तपाईँहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरूको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन गर्न आग्रह गरेका थिए । यस कार्यक्रममा बेलायत, जापान, अस्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।
उनीहरूले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै सोमबार बिहान अन्तुबाट सूर्याेदयको अवलोकन गरेका थिए । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण