Safal Khabar - आस्थाको महापर्व छठ : भक्त र भगवानबीच सीधा वार्ता
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
आजबाट छठ पर्व

आस्थाको महापर्व छठ : भक्त र भगवानबीच सीधा वार्ता
आइतबार, २५ कार्तिक २०७५, १५ : ५६
आस्थाको महापर्व छठ : भक्त र भगवानबीच सीधा वार्ता

चितवन । आजबाट छठ पर्व सुरु भएको छ । दसैँ, तिहारजस्ता ठूला पर्व हामीबाट बिदा भइसकेपछि टुप्लुक्क छठ पर्व आइसकेको छ । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको मान्यता छ । 
चार दिनसम्म मनाइने छठ पर्वको आज पहिलो दिन । वर्तालुहरु वर्त बस्ने, नुहाउने र चोखो खानेकुरा खाने गर्छन् । नदी किनार, घाटहरु आजैको दिनदेखि दुलहीजस्तो सिँगारिन सुरु भइसकेको छ । 
‘आजबाट छठ पर्व सुरु भयो, आज वर्तालुहरु वर्त बसेर चोखोमीठो खानेकुरा खान्छन्’ तराई सामुदायिक सेवा समिति चितवनका अध्यक्ष गोपाल गुप्ताले भन्नुभयो, ‘आजबाटै सूर्यलाई अर्घ दिने नदीकिनारहरुलाई दुलहीजसरी सिँगारिन थालिएको छ ।’ 
चितवनका विभिन्न ठाउँहरुमा छठपर्वको रमझम देखिन्छ । चितवनमा छठ पर्वको सबैभन्दा ठूलो रौनक नारायणी नदी किनारमा देख्न पाइने अध्यक्ष गुप्ताको भनाइ छ । यसबाहेक रत्ननगरको लौरीघोल किनारमा, खैरहनी पर्साको पुल किनारमा, पदमपुरको खगेरी नदी किनारमा, माडीको भोगाहा, वसन्तपुर, बरुवा र कल्याणपुरको खोला किनारहरुमा पनि छठको रौनक देखिन पाइने अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला नदी किनारहरुको सजिसजाउ गरिएको छ ।’  
मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै लगेको उहाँ बताउनुहुन्छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक बर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँध्ने काम गर्छ ।
भनिन्छ, ‘छठ पर्वमा भक्त र भगवानसँग सीधा वार्तालाप हुन्छ ।’ यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवानलाई प्रत्यक्ष देख्न सकिन्छ । छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन् ।
अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो क्रम नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन् । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् ।
चार दिवशीय छठ ब्रतमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम—शक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर पर्वको समापन गरिन्छ । छठ पर्वलाई विभिन्न उपमाहरु दिइएको छ । ​
छठ पर्वका उपमाहरु 

उपमा १
समाजिक सद्भावको पर्व

तराई सामुदायिक सेवा समितिका अनुसार छठ समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, अझै कायमै छ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत कायमै छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध परापूर्व कालदेखि नै भत्काएको पाइन्छ । 
छठ पर्व मनाउन डोम बिना सम्भवै छैन । उनीहरुले बनाएको ढक्की, नाङ्गलो, सुपा, डलिया, सुपली आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न ब्रतालुहरु प्रयोग गर्छन् । पूजा सामग्री सजाउनाले ती पिछडिएका दलित पनि हाम्रो समाजको अंग हुन र तिनको पनि समाज विकास, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको तथ्यलाई यहाँ स्वीकार गरिएको देखिन्छ । त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन् । 
धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै बैमनश्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा र्पयो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन् । 

उपमा २
एकताको पर्व
तराई सामुदायिक सेवा समितिका अध्यक्ष गोपाल गुप्ताले छठपर्वमा सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधि गरिने बताउनुभयो । उहाँले यस्ता कार्यले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको बताउनुहुन्छ । तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले पछिल्लो समय पहाडतिर पनि छेडेको छ । छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ । मधेश, पडाड र हिमालसंग छठको प्रेम रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
 
उपमा ३
अहिंसाको पर्व
छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ । अध्यक्ष गुप्ताका अनुसार दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ । ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । यस पर्वमा सबैको जय जयकार गरिन्छ ।

उपमा ४
कृषकको पहिचानको पर्व

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । छठमा कृषि सामग्रीहरु चाहिन्छ । तराई सामुदायिक सेवा समिति गोपाल गुप्ताले छठमा गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोग हुने बताउनुभयो । त्यसैले कृषकको पहिचानको पर्वको रुपमा यसलाई लिइएको छ । पर्वले किसानको श्रमको कदर गरेको छ ।


उपमा ५
लोकतान्त्रिक पर्व
लोकतन्त्रमा सबै बराबर हुन्छ भन्ने मान्यता छ । छठ पर्वलाई लोकतान्त्रिक पर्वको रुपमा लिइन्छ । छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आएको छ । सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रुपले प्रकाश छर्छन् । सूर्यको प्रकाश विना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन । रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दिर्घायूको कामना गर्दै सूर्यको उपासना गरिने भएकाले छठलाई लोकतान्त्रिक पर्व भनिएको हो । 


 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस