सरकार माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तयारीमा

मंगलबार, १८ पुस २०७४, १५ : ५०
सरकार माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तयारीमा

चितवन । सरकारले माघ २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगसँगको परामर्शका आधारमा सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि माघ २५ गते गर्ने गरी मिति तोक्ने तयारी गरेको हो ।

प्रधानमन्त्री निकट श्रोतका अनुसार सरकारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले उक्त मिति घोषणा गर्नेछ । त्यस्तै विहिबारकै मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । प्रदेश प्रमुखको नियुक्ति गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ वटै राजनीतिक दलहरुसँग छलफल गर्ने छन् ।

राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुको नियुक्ति तथा अस्थायी सदरमुकाम तोक्ने विषयमा  मंगलबार प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

बालुवाटारमा करिव ३ घण्टा बसेको बैठकमा देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै सरकार छाड्ने गरी त्यसअघि गर्नुपर्ने कामका बारेमा सुझाव लिएका थिए । बैठकमा सहभागि कांग्रेस नेता डा प्रकाश शरण महतले ‘प्रदेश प्रमुख नियुक्तिअघि दलहरुसँग छलफल गर्ने तयारीमा रहेको बताए ।

 ‘प्रदेश प्रमुख नियुक्तिमा विवाद नआओस भनेर प्रधानमन्त्रीले अरु दलसँग पनि परामर्श गर्दैहुनुहुन्छ, सकभर यो सरकारले गरेको नियुक्ति अर्को सरकारले नउल्ट्याओस भन्ने प्रधानमन्त्रीको चाहाना छ’ नेता महतले  भने ।

त्यस्तै बैठकमा नेताहरुले सरकार छाड्ने विषयमा पनि प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा देउवाले राष्ट्रियसभा निर्वाचन भएर संघीय संसदले पुर्णता पाउनेवित्तिकै आफु कुर्सी छोड्न तयार रहेको बताएका थिए ।

केही नेताले जनमत कांग्रेसको विपक्षमा आएकाले बैठकमा चाडो भन्दा चाडो सत्ता हस्तान्तरण गरेर राजनितिक गतिरोध अन्त्यका लागि पहल गर्न नेता देउवालई आग्रह गरेका थिए ।

त्यस्तै बैठकमा देउवाले निर्वाचन आयोगले समेत माघ २४/२५ मा राष्ट्रिय सभा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएकाले त्यहि दिनलाई निर्वाचनको मिति तोक्दा के हुन्छ भनेर नेताहरुको धारणा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस