चुनावको समीक्षा गर्न कांग्रेसले छिट्टै केन्द्रीय समिति र महा समिति बैठक बोलाउने

मंगलबार, १८ पुस २०७४, १४ : ०५
चुनावको समीक्षा गर्न कांग्रेसले छिट्टै केन्द्रीय समिति र महा समिति बैठक बोलाउने

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर पार्टीभित्र नेतृत्वको आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार बिहान सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग मुलुकको पछिल्लो समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन् ।

शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले चुनावी परिणामको समीक्षा गर्न चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएका छन् । ‘‘बैठकमा सभापतिज्युले चुनावी समीक्षा गर्न चाँडै केन्द्रीय समिति र महासमिति बैठक बोलाउँछु भन्नुभएको छ,’’ बैठकमा सहभागी कांग्रेस नेता तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले भने ।

कांग्रेसका शीर्ष नेताहरु पार्टी सामु आइपर्ने चुनौती सामना गर्न एकतावद्ध र अनुशासित भएर अघि बढ्न एकमत देखिएको उनले बताए । ‘‘चुनावको परिणामले पार्टीका लागि आइपर्ने चुनौतीहरुको सामना एकतावद्ध र अनुशासित भएर गर्ने बारेमा शीर्ष नेतृत्व एकमत देखिएको छ,’’ नेता खाँणले जानकारी दिए ।

बैठकमा सहभागी शीर्ष नेताहरुले पार्टी सभापति देउवालाई छिट्टै राष्ट्रिय सभाको निर्वाचन मिति तोक्न र प्रदेश प्रमुखहरु नियुक्त गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सल्लाह दिएका छन् । नेता खाँणका अनुसार सभापति देउवाले जवाफमा अन्य दलहरुसँगको परामर्शमा राष्ट्रिय सभाको निर्वाचन मिति तोक्ने र प्रदेश प्रमुखहरुको नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन् । कांग्रेस नेता खाँणका अनुसार सरकारले प्रदेश प्रमुखहरु नियुक्त गरिसकेपछि राष्ट्रिय सभाका लागि निर्वाचन मिति तय हुनेछ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. रामशरण महत, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस