काठमाडौं। इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताका लागि चाँडै वार्ता शुरू हुने बताइएको छ ।
इजरायलले युद्धविराम सम्झौतासम्बन्धी वार्तालाई अघि बढाउन आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने घोषणा गरेको छ । उता, हमासले पनि इजिप्ट र कतारका मध्यस्थहरूसँग युद्धविराम सम्झौतासम्बन्धी वार्ता शुरू गर्न सकारात्मक संकेत दिएको छ ।
इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता मार्चको शुरूआतमा समाप्त भइसकेको छ । अब दोस्रो चरणको सम्झौताका लागि छलफल हुने भएको छ ।
अमेरिका पनि मध्यस्थता वार्तामा सहभागी हुने इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकाको मध्यस्थतामा हुने वार्तामा सहभागी हुने आमन्त्रणलाई इजरायलले स्वीकार गरिसकेको छ ।
यद्यपि, यसबारे थप जानकारी दिइएको छैन । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौतासम्बन्धी वार्ता एक महिनाअघि नै शुरू हुनुपर्ने थियो । अमेरिका पनि हमाससँग वार्ता शुरू गर्ने तयारीमा रहेको जनाइएको छ । तर, इजरायलले भने अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गर्न खोजेकोप्रति कडा विरोध जनाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका विश्वासपात्र रोन डेर्मर र अमेरिकी विशेष प्रतिनिधि एडम बोहलरबीच यस विषयमा चर्को विवादसमेत भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एडम बोहलरलाई बन्धक मामिलाका लागि आफ्नो विशेष प्रतिनिधिको रूपमा नियुक्त गरेका छन् ।
इजरायलद्वारा हमासमाथि दबाब
गत हप्ता इजरायलले युद्धविराम सम्झौताको विस्तार तथा बाँकी रहेका बन्धकमध्ये आधालाई रिहाइ गराउन हमासमाथि दबाब सिर्जना गरेको थियो । तर, दुवै पक्षबीच सहमति हुन सकेन । हाल हमाससँग २४ जना बन्धक र ३५ वटा शव रहेको बताइन्छ । इजरायलले गत हप्ता गाजामा आपूर्ति रोक्ने निर्णय गरेको थियो, जसबाट हमासलाई दबाब दिन सकियोस् भन्ने उसको उद्देश्य थियो ।
पहिलो चरणको सम्झौता अन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई रिहा गरेको थियो भने ८ वटा शव इजरायललाई हस्तान्तरण गरेको थियो । त्यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सैनिकहरू फिर्ता बोलाएपछि हजारौं प्यालेस्टिनीहरू गाजामा पुनः फर्कन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट