पीपीएल टी–२० क्रिकेट

धनगढी ब्लुजले पाखा लगायो बुटवल ब्लास्टर्सलाई

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०७५, १७ : १६
धनगढी ब्लुजले पाखा लगायो बुटवल ब्लास्टर्सलाई

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले हराएको छ ।
निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै धनगढी ब्लुजले एक सय ६१ रन जोडेको थियो । एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बुटवल ब्लास्टर्स छ विकेटको नोक्सानीमा एक सय ४१ रनमै समेटिन पुग्यो । बुटवलका लागि चिराग पुरीले ७० रन बटुले । दोस्रो ओभरमा मैदान छिरेका पुरी खेलको अन्तसम्म टिकेका थिए । टिमलाई जित दिलाउने उनको इच्छा भने पूरा हुन पाएन ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको धनगढीको लागि टिम क्याप्टेन दिपेन्द्रसिंह ऐरीले नटआउट ५६ रनको योगदान गरेका थिए । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक रन बटुले । धनगढीका डेनिल लरेन्सले ३९ बलमै ५१ रन जोड्न सफल भए । उनले तीन चौका र दुई छक्कासहित अर्धशतक बनाए । ऐरी र लरेन्सले साझेदारी शतक खेलेका थिए ।
कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस