पीपीएल टी–२० क्रिकेट

चितवन राइनोजको लगातार दोस्रो जित (अंक तालिकासहित)

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०७५, १२ : ५१
चितवन राइनोजको लगातार दोस्रो जित (अंक तालिकासहित)

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आज बिहीबार भएको पहिलो खेलमा काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित दर्ता गरेको छ ।
यसअघि हिजो बुधबार भएको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय २६ रनले हराएको थियो । प्रतियोगितामा चार खेल खेलिसकेको चितवन राइनोजले पछिल्ला दुई खेल जितेर राम्रो कमब्याक गरेको छ ।
काठमाडौँ रोयल्सविरुद्धको खेलमा पाँच विकेट गुमाउँदै चितवन राइनोजले एक सय ४९ रन जोडेको थियो । चितवन राइनोजको लागि हरिशंकर साहले ४९ बलमा ६० रन जोड्न सफल भए । उनले तीन छक्का र पाँच चौकासहित सर्वाधिक रन जोडे । अन्य खेलाडीमध्ये स्मित पटेलले ३१, अनिलकुमार साहले २७, पारस खड्का १४ र सन्नी पटेलले १३ रन जोडेका थिए ।
टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौँ ब्लुजले एक सय ५० रनको लक्ष्य पछ्याउँदै निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३६ रनमात्र जोड्यो । लक्ष्य नजिक पुगेर रोकिएको काठमाडौँका लागि गौरव तोमरले ३९ र टिम क्याप्टेन ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरेका थिए ।
कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको हालसम्मको अंकतालिका यसप्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस