पीपीएल टी–२० क्रिकेट

बुटवल ब्लास्टर्सलाई १२ रनले हरायो विराटनगर टाइटन्सले

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १७ : १०
बुटवल ब्लास्टर्सलाई १२ रनले हरायो विराटनगर टाइटन्सले

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले हराएर कठिन जित निकालेको छ ।
बुधबारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय २६ रनले हराएको थियो । प्रतियोगितामा दुई खेल लगातार हारेको चितवन राइनोज र तीन खेल लगातार हारेको  विराटनगर टाइटन्सले खेल जितेर राम्रो कमब्याक गरेका छन् ।
निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै विराटनगर टाइटन्सले एक सय ४० रन जोडेको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल ब्लास्टर्सले २० ओभर सकिँदा आठ विकेटको नोक्सानीमा एक सय २८ रनमात्र बनायो । बुटवलका लागि भीम सार्कीले चार चौका र एक छक्कासहित अर्धशतक (५० रन) बनाए । सागर पुनले २९, शंकर रानाले २३ र सिद्धान्त लोहनीले १५ रन योगदान गरे ।
विराटनगर टाइटन्सका टिम क्याप्टेन सन्दीप लामिछानेले २४ रन खर्चेर दुई विकेट लिएका थिए । खेललाई जितको दिशा देखाएका किशोर महतोले १२ रन खर्चेर दुई विकेट लिए । महतोले अन्तिम ओभर मेडेन बलिङ (शुन्य रन) गरेका थिए । साहब आलम र सुनिल धमलाले एक एक विकेट लिएका थिए ।
कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस