पीपीएल टी–२० क्रिकेट

धनगढी ब्लुजलाई एक सय २६ रनले हरायो चितवन राइनोजले

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १२ : ४१
धनगढी ब्लुजलाई एक सय २६ रनले हरायो चितवन राइनोजले

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय २६ रनले हराएको छ । प्रतियोगितामा दुई खेल लगातार हारेको चितवन राइनोजले तेस्रो खेल जितेर राम्रो कमब्याक गरेको छ ।
निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै चितवन राइनोजले एक सय ९३ रन जोडेको थियो । प्रतियोगिताको यो दोस्रो हाईस्कोर हो । यसअघि बुटवल ब्लास्टर्स विरुद्धको खेलमा पोखरा पल्टनले एक सय ९७ रन जोडेको थियो ।
चितवन राइनोजको लागि हरिशंकर साहले ३३ बलमा ५३ रन जोड्न सफल भए । उनले तीन छक्का र छ चौकासहित सर्वाधिक रन जोडेका थिए । अन्य खेलाडीमध्ये अनिलकुमार साहले ३७, सन्नी पटेलले २६, स्मित पटेलले २४, पारस खड्का १९ र करन केसीले ११ रन जोडेका थिए । धनगढी ब्ल्जको चार विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच बने ।
टस जितेर पहिले फिल्डिङ रोजेको धनगढी ब्लुजले दस ओभरसम्म चितवन राइनोजको विकेट लिन सकेन । एक सय ९४ रनको विशाल लक्ष्य पाएको धनगढी ब्लुजले १६ ओभर दुई बलमा सबै विकेट गुमाएर ६७ रनमात्र जोड्यो । सस्तैमा समेटिएको धनगढीका लागि पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रनको योगदान गरेका थिए ।
कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस