ताप्लेजुङ। कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।
पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।
तीमध्ये तीन हजार दुई सय १९ जना विदेशी पर्यटक रहेका परिषद्का संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । पर्यटकको आगमन वृद्धि हुनुमा प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार निर्माण, सुविधा विस्तारलगायत कारण रहेको उनले बताए ।
यादवका अनुसार हरेक वर्ष तुलनात्मक रूपमा पर्यटकको आगमन बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्ममा आठ सय ७७ पर्यटक यहाँ आएका छन् । आव २०७६/७७ को छ महिनामा छ सय आठ जना पर्यटक आएका उनले जानकारी दिए ।
आव २०७८/७९ मा दुई सय छ, आव २०७९/८० मा सात सय १३, आव २०८०/८१ मा एक हजार हजार ८५ जना पर्यटक आएका जनाउँदै यो तथ्याङ्कलाई हेर्दा क्रमशः पर्यटकको आगमनमा वृद्धि हुँदै गएको यादवले बताए ।
यसैबीच, कञ्चनजङ्घा आरोहणको ७०औं वार्षिकोत्सवका अवसरमा आगामी वैशाख ५ देखि ७ गतेसम्म कञ्चनजङ्घा हीरक महोत्सव आयोजना गरिने भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आयोजना गर्ने उक्त महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा हुनेछ ।
पदयात्रा, फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा खाद्य परिकारको प्रदर्शनीलगायत गतिविधिसहित खुला पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुने परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए । उनका अनुसार काठमाडौं र बेलायतमा पनि महोत्सवसम्बन्धी कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
समुद्री सतहदेखि आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए