काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक डेढ लाख रकम बचत हुने गरेको जानकारी दिए ।
विसं २०७४ मा पौडेलले १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याएका थिए । पाँच गाईबाट व्यावसायिक पशुपालन शुरू गरेका पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेको उनले बताए।
उनले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताए । 'साँझ र बिहानगरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु,' उनले भने, 'पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।
फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उनले बताए । गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा एक लाख ५० हजार जति खर्च हुने गरेको छ । 'पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायत तरकारीसमेत लगाएको छु,' उनले भने, 'गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।' यहाँ उत्पादन हुने दूध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ । 'फार्ममा उत्पादन हुने तरकारी तथा दूध बिक्रीका लागि समस्या छैन,' उनले भने, 'तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दूध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।
आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध ७५ र भैँसीको दूध १०० मा बिक्री हुँदै आएको बताए । 'गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु,' उनले भने, 'घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।'
पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताए । 'हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ', उनले भने, 'सधैँ सबै काम चार जनालेमात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरुलाई पनि काममा लगाउने गरेका छौँ ।' गाईभैँसीको दूध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दूध दुहुन साढे एक घण्टा लाग्ने उनले बताए ।
व्यावसायिक रूपमा कृषि तथा पशुपालन शुरू गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि एक लाख ५० हजार अनुदान पाएको उनले बताए । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरूपमा गर्भाधान गराउने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेर वार्षिक २० लाख कमाइ