‘क्यान्सर रोगी बढ्नुमा जीवनशैली जिम्मेवार’

सूर्यप्रकाश कँडेल

सोमबार, ०५ कार्तिक २०७५, १७ : १८

चितवनको भरतपुर महानगरपालिकाभित्र रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालमा क्यान्सर रोगको उपचार हुने एकमात्र सुविधासम्पन्न अस्पताल हो । चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालका नौ वटा विभागमध्ये एउटा विभाग हो, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग । यही विभागमा दुई दशकदेखि कार्यरत छन् भोला शिवाकोटी । जनस्वास्थ्य अधिकृत सातौँ तहबाट २०५५ सालदेखि अस्पतालमा कार्यरत शिवाकोटी अहिले उपप्रमुख दसौँ तहमा कार्यरत छन् ।

क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख शिवाकोटी क्यान्सर रोकथाम, नियन्त्रण र अनुसन्धानको काम सोचेजस्तो हुन नसकेको बताउँछन् । क्यान्सर रोगी बढ्नुमा आधुनिकतासँगै भित्रिएको नयाँ जीवनशैली जिम्मेवार रहेको उनको भनाइ छ । क्यान्सर रोगबाट बच्नको लागि खानपिन र जीवनशैलीमा सुधार ल्याउनु पर्ने उनको सुझाव छ । बालकदेखि वृद्धसम्मलाई क्यान्सर भएको पाइएपनि मुख्यगरी मानिसको उमेर बढ्दै जाँदा क्यान्सर रोग हुने खतरा पनि बढ्दै जाने शिवाकोटी बताउँछन् ।

२०१६ साल चैत १४ गते दोलखामा जन्मिएका शिवाकोटी आमा हरिमाया र बुबा षडानन्दका काहिँलो छोरा हुन् । बिनु शिवाकोटीसँग लगनगाँठो कसेका शिवाकोटीका छोरा विभोर र छोरी विभु गरी दुई सन्तान छन् । प्रारम्भिक शिक्षा दोलखामै पूरा गरेका शिवाकोटीले जुद्धोदय माध्यमिक विद्यालय काठमाडौँबाट २०३३ सालमा एसएलसी दिए । उनले महाराजगञ्ज क्याम्पसबाट चिकित्शाशास्त्रमा तीनवर्षे प्रवीणता प्रमाणपत्र तह र तीनवर्षे स्नातक तह उत्तीर्ण गरे । इटालीको रोम युनिभर्सिटी अन्तर्गतको कलेजबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपीएच) को पढाई सिध्याएका शिवाकोटीले अमेरिकास्थित नेशनल क्यान्सर इन्स्टिच्युटबाट डिप्लोमा इन क्यान्सर प्रिभेन्सन डिग्री समेत हासिल गरेका छन् ।

नेपालमा नेशनल क्यान्सर इन्स्टिच्युटको आवश्यकतामाथि जोड दिँदै उनी भन्छन्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐनबाट स्थापित स्वायत्त संस्था हो । ऐनमा उल्लेखित अस्पतालको उद्देश्यमा क्यान्सर रोगको उपचार क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने भनी स्पष्ट लेखिएको छ । त्यो उद्देश्य पूरा गर्नको लागि पनि नेशनल क्यान्सर इन्स्टिच्युट आवश्यक छ, जसका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग छ ।’ पछिल्लो समयमा नेशनल क्यान्सर इन्स्टिच्युटको आवश्यकताबारे बहस चल्नु सकारात्मक रहेको प्रतिक्रिया दिँदै शिवाकोटीले यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

प्रस्तुत छ, चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जनस्वास्थ्य अधिकृत एवं क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसँग क्यान्सर रोग, यसको रोकथाम, नियन्त्रण तथा अनुसन्धानबारे सफल खबरको विशेष प्रस्तुति सफल संवाद अन्तर्गत गरिएको कुराकानी :

 

प्रतिक्रिया दिनुहोस