पुटिनद्वारा चौथोपटक राष्ट्रपतिमा उम्मेदवारी

एजेन्सी

शनिबार, १५ पुस २०७४, १४ : १९
पुटिनद्वारा चौथोपटक राष्ट्रपतिमा उम्मेदवारी

रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले आगामी राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । आगामी वर्ष हुने निर्वाचनका लागि पुटिनले उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन् । उनको उम्मेदवारीलाई देशका विभिन्न राजनीतिज्ञहरू, सार्वजनिक ख्यातिप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो नाम दर्ता गरेका हुन् । तानाशाही जोसेफ स्टालिनपछि रसियामा पुटिनले सबैभन्दा धेरै समय शासन गरेका छन् ।
लगातार तीन कार्यकाल राष्ट्रपति बनेका ६५ वर्षीय पुटिनले आगामी निर्वाचनमा विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म हुनेछ । पुटिनले उम्मेदवारी दर्ता गर्नु एक दिनअघि ख्यातिप्राप्त व्यक्तिहरू, राजनीतिज्ञहरू र खेल क्षेत्रका अगुवासमेत झन्डै ६ सयजनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाउँमा भेला भएर समर्थन जनाएका थिए ।

यसै साता निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेको थियो । आयोगको निर्णयलाई नेता नभाल्नीले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए । आयोगले नभाल्नीलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेपछि उनले निर्वाचन बहिष्कारका लागि आह्वान गरेका थिए ।

निर्वाचन आयोगकी प्रमुख एला पम्फिलिभाले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएकाले उनी चुनावमा उम्मेदवार हुन अयोग्य भएको बताएकी थिइन् । किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट झन्डै पाँच लाख डलरबराबरको काठ घोटाला गरेकोमा नभाल्नी दोषी ठहर भएका थिए ।

नभाल्नीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रूपमा प्रेरित भएको उनको भनाइ छ । राष्ट्रपति पुटिनको निर्देशनमा आफूमाथि अभियोग लागेको उनको दाबी छ ।

प्रमुख विपक्षीविनाको चुनावको वैधानिकता नहुने उनले बताएका छन् । ४१ वर्षीय नभाल्नीलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रूपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस