सांसद छान्दाछान्दै विवाद : पेरिसडाँडामा हात हालाहाल

शनिबार, १५ पुस २०७४, ११ : ०७
सांसद छान्दाछान्दै विवाद : पेरिसडाँडामा हात हालाहाल

चितवन  । प्रदेशसभा सांसद चयनबारे विवाद बढेपछि माओवादी मुख्यालयमा केन्द्रीय नेताहरुबीच हात हालाहाल भएको छ । सांसद चयनमा नेताहरुले आफन्त छानेर जनयुद्धमा त्याग गर्ने नेताहरुलाई अन्याय गरेको विषयमा भएको विवाद बढ्दै जाँदा माओवादी नेताहरु बीच हात हालाहालको स्थिति बनेको हो ।

सिन्धुपाल्चोकका त्यागी नेता हिमाल पराजुली समानुपातिकको एक नम्बरमा थिए । तर नाम छनौटमा परे नवप्रवेशी दोलखाका आङदेण्डी लामा, झक्कु सुवेदीकी छोरी भावना र प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता । पेरिसडाँडामा घाम तापेर बसिरहेका माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि गुनासो गर्न आइपुगेका सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली शुक्रबार दिउँसो अलि बढी नै आक्रोशित देखिए ।

नेताको छोरी, श्रीमती र बुहारीलाई सांसद बनाउने तर पार्टीको योगदान गरेका र सहिद परिवारलाई हटाएको भन्दै उनले आक्रोश पोखे । जवाफमा हितमान र झक्कुले तपाईंले भनेर हुँदैन भन्दै रुखो जवाफ दिएका थिए । ‘आन्दोलनमा त्याग गरेका महिलाहरु, सहिद परिवार छन्, तपाईंहरु पसल थापेर बसेकालाई सांसद बनाउने भन्दै मैले प्रश्न गरेँ,’ पराजुलीले भने, ‘मैले यो नाम सच्याउनुपर्छ भनेँ तर झक्कु सुवेदीले सबैको दुःख छ भन्दै नाम नसच्चिने अडान लिए पछि विवाद बढ्यो ।’
शुक्रबार दिउँसो पेरिसडाँडामा रहेका एक मा‌ओवादी नेताले भने, ‘नेताको रुखो व्यवहारले पराजुली आक्रोशित बने र नेताहरुलाई थप्पड मारे ।’

नेताको जवाफले आक्रोशित बनेका पराजुलीले नेताहरु पैसामा बिकेको आरोप लगाए । उनले नामै किटेर दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै आक्रोश पोखे । लामा माओवादीमा नवप्रवेशी हुन् । उनी आफू मात्र होइन, सिन्धुपाल्चोकबाट एकजना पनि समानुपातिक सांसदमा नपरेपछि आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस