काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् ।
उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरू रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गर्ने बताए । उनले वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने बताए । उनले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरू मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभूत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्प्रमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ बेटर उपायहरू छन् । अझ राम्रो तरिकाहरू छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौती गर्ने होइन । तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरू छन् । महिलाहरूको एक तिहाइ सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसङ्ख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरू वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सक्छौँ ।’
उनले परिस्थितिका कारण दुई ठुला पार्टी एक ठाउँमा हुन परेको बताए । समाजवाद, लोकतन्त्र, कानुनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउँदै महतले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिस्पर्धी पार्टी पनि हौँ । त्यस अर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दैछौँ । समाजवादको कुरा गर्दैछौँ, लोकतन्त्रको कुरा गर्दैछौँ, यो कानुनी शासनको हरेक मुद्दामा नेपाली काँग्रेसले अक्षरशः कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्ति भन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ । सात बुँदेमा पनि देखिएको छ । पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठुलो चुनौती छ । तर आवश्यकता हो । त्यसको बिचमा काम गरिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै