वीरगन्ज । मधेस सरकारले चालू आर्थिक वर्ष सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो ।
अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले २ साउन २ गतेदेखि सरकारको बजेट खर्च गर्न अख्तियारी दिएका छन् ।
मन्त्रालयका कर्मचारी तथा प्रमुखहरूलाई १०/११ पेजको गाइड लाइनसहित काम गर्न अख्तियारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कुराकानी गर्दै मुख्यमन्त्री सिंहले समयमा विकास निर्माण गर्नका लागि आफ्नो नेतृत्वको सरकारले बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको जानकारी दिए ।
उनका अनुसार सुशासनका लागि बजेट खर्चको गर्न अख्तियारी दिइएको हो । बजेट खर्चको अख्तियारी समयमै नदिँदा विकास निर्माणसहितका काम गर्दा व्यापक गुनासाहरू आउने गरेको उनले सुनाए । यो पटक सबै प्रक्रिया चाँडै पूरा गरेर समयमै अख्तियारी प्रदान गरिएको समेत उनले बताए ।
उनले भने, ‘जनताको गुनासा मात्रै होइन, यो वास्तविक विषय पनि हो । ढिलो गरी अख्तियारी जाँदा कर्मचारीहरूले काम गर्न पाउँदैनथे । अख्तियारी आएको छैन भन्दै पन्छिने काम हुन्थ्यो । त्यसकारण जनताको मर्म र भावना अनुसार यो पटक आर्थिक वर्ष सुरु भएसँगै काम गर्ने अख्तियारी प्रदान गरिएको हो ।’
यो पटक कुनै पनि कर्मचारीलाई जनताको सेवामा हेलचेक्र्याइँ गर्ने छुट नभएको उनको भनाइ छ । सरकारले अख्तियारी प्रदान गर्नका लागि साउन १ गते अर्थ विधेयक राजपत्रमा प्रकाशित गरेको थियो भने २ गते विनियोजन विधेयक प्रकाशित गरेको थियो ।
यी दुईवटै विधेयक प्रकाशित भएसँगै प्रदेश सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु हुने भएको छ । यस अघिका सरकारले आश्विन पछि बजेट रकम खर्च गर्न अख्तियारी दिने गरेको रेकर्ड छ ।
अघिल्लो वर्ष प्रदेश सरकारले आश्विनदेखि बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको थियो । तर अहिले भने सरकारले २ महिना अगाडि नै सबै मन्त्रालय तथा सम्बन्धित विभागीय प्रमुखलाई बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस
मधेश सरकारबाट आज ६ मन्त्री हटाइँदै