७ वर्षदेखि चलेको सिरियाली गृहयुद्धबाट फेरिएको तस्बिर, के पायो अमेरिकाले ?

एजेन्सी

शुक्रबार, १४ पुस २०७४, ११ : ३९
७ वर्षदेखि चलेको सिरियाली गृहयुद्धबाट फेरिएको तस्बिर,  के पायो अमेरिकाले ?

७ वर्षदेखि चलेको सिरियाली गृहयुद्धका क्रममा धेरै घरबारविहीन भए । मारिनेको सङ्ख्या लाखौँ छ । युद्धको फाइदा उठाएर सिरिया र इराकमा आफ्नो शासन फैलाइरहेको आतङ्ककारी सङ्गठन आईएस कमजोर स्थितिमा छ । राकामा आईएसको हारलाई इस्लामिक राज्यको पतनका रूपमा अथ्र्याइएको छ । तर गृहयुद्ध अझै समाप्त भएको छैन ।

बाल्यकालमा इयुपरेट्स नदी किनारस्थित रङ्गशालामा फुटबल खेलेको सम्झना अहमद हसनसँग ताजै छ । उनी अमेरिकी समर्थनप्राप्त सैन्य दस्ता सिरियाली डेमोक्रेटिक फोर्स (एसडीएफ) का मिडिया अधिकृत हुन् । गृहयुद्धको चेपटामा पर्नुअघि नदी किनारको सहर राका सम्पन्न थियो । तर जब सन् २०१४ मा आईएसआईएसले यस सहरमाथि नियन्त्रण जमायो । त्यसपछि स्थानीयको जीवन कष्टपूर्ण बन्यो ।

फुटबल मैदानहरू जेलमा परिणत भए । चेन्जिङ तथा लकर रुममा पनि कैदीहरूलाई थुनियो । अमेरिकी सेनाको सहयोगमा लामो समय लडाइँ लडेपछि गत अक्टोबरमा एसडीएफले राकालाई स्वतन्त्र घोषणा गर्यो । यस रङ्गशालामा बनाइएका जेलहरू बुल्डोजर लगाएर भत्काइए । त्यसपछि सबै दुःख बिर्सेर अहमदले रङ्गशालामा एक राउन्ड लगाए । ‘मलाई थाहा छैन मैले कस्तो महसुस गरेँ भन्ने,’ उनले भने, ‘सबैभन्दा पहिले सहर स्वतन्त्र भएकोमा खुसी लाग्यो । तर, पीडा पनि किनकि मैले साहदत प्राप्त गरेका मेरा साथीहरूलाई सम्झिएँ ।’

राकामा अमेरिकी सेनाले मात्रै ४ हजार ४ सय ५० पटक हवाई हमला गर्यो । यसबाहेक  उसका सहयोगी गठबन्धन तथा आतङ्ककारी आईएसआईएसले कतिपटक हमला गरे भन्ने कुनै लेखाजोखा छैन । सडक तथा भवनहरू भत्किएका छन् ।

सन् १९५० पछि कृषिमा यस सहरले गरेको प्रगति लोभलाग्दो थियो । सन् २०११ मा सिरियाली गृहयुद्ध हुनुअघिसम्म २ लाख जनसङ्ख्या रहेको यो सहरमा किसान र सरकारी अधिकारीहरूको बाहुल्यता थियो । ‘मेरो सम्झनामा यो निकै सुन्दर तथा समावेशी सहर हो । शान्त सन्ध्यामा नदी किनारमा बसेको मीठो सम्झना मैले बिर्सेको छैन,’ वकिल तथा विपक्षी (एसडीएफ) अधिकारकर्मी समेत रहेका हसनले भने । उनी अहिले राका सिभिल काउन्सिलका अधिकारी हुन् । सहरलाई पुनर्निर्माण गर्ने एसडीएफको कार्ययोजना छ । तर योजना सफल हुनेमा आशङ्का छ ।

अक्टोबर १७ मा एसडीएफले स्वतन्त्र घोषण गर्नुअघि राकालाई आतङ्की सङ्गठन आईएसआईएसले ‘क्यालिफेट’ घोषणा गरेको थियो । इस्लाम धर्मअनुसार क्यालिफेट त्यस्तो धार्मिक राज्य हो, जहाँ महोम्मदका उत्तराधिकारी क्यालिफले शासन गरेका थिए । आईएसआईएसका प्रमुख अबु बकर अल बग्दादीले आफूलाई क्यालिफको उत्तराधिकारी दाबी गर्दै आएका छन् ।

सन् २०१४ को जुनमा उनले राकाबाट इराक हुँदै विश्वका सबै भूभागमा ‘क्यालिफेट बिस्तार गर्ने घोषणा गरेका थिए । आईएस त्यतिबेला निकै शक्तिशाली थियो, उसले मोसुल सहर पनि नियन्त्रण लियो, बग्दादभन्दा ३७ माइल वरसम्म आफ्नो सिमाना फैलायो ।

तर राका गुमेपछि ‘क्यालिफेट’ अन्त्यनजिक पुगेको छ । इराक र सिरियाका कुनै पनि प्रमुख सहर अब आईएसको कब्जामा छैनन् । यो समूह अन्य देशका सैनिकहरूसँगको युद्धमा पराजयको सँघारमा पुगिसकेको छ । बाँकी रहेका ३५ सयदेखि ५५ सय सेना इराक र सिरियाका सिमानामा लुकेर बसेका छन् । सिरियाको रक्तपातपूर्ण गृहयुद्ध सातौँ वर्षमा प्रवेश गर्नै लागेको छ । देशको पूर्वी इलाका एसीडएफको नियन्त्रणमा छ । यो समूह कुर्दिस सैन्य समूहको बाहुल्यता रहेको सेनाको गठबन्धन हो । यसलाई सन् २०१४ देखि अमेरिकी सेना र उसका गठबन्धन देशहरूको समर्थन छ । सिरियाको पश्चिमतर्फ राष्ट्रपति बसर अल असदको नियन्त्रण छ । देशको धेरै जनसङ्ख्या रहेका सहरहरूमा उनको शासन छ । राजधानी दमास्कस र एलिप्पो सहर यही पर्छन् । उनलाई रुस र इरानको समर्थन छ ।

शक्तिशाली हुँदै असद
सन् २०११ को सिरियाली विद्रोहका कारण फैलने मौका पाएका इस्लामिक विद्राही समूहहरूलाई असदले झन्डै परास्त गरिसकेका छन्  । कुनै बोला सत्ता छाड्नुपर्ने अवस्थामा पुगेका असदमा अहिले पूरै सिरियामा शासन गर्ने महत्वाकाङ्क्षा फर्किएको छ । विपक्षी गठबन्धन एसडीएफले जसरी नै  असदको सत्ताले पनि आईएसले कब्जा जमाएको भूभागमा विजय हासिल गरिरहेको छ । विजयसँगै यी दुई समानान्तर सत्ता विभिन्न भूभागमा आमने–सामने हुने अवस्थामा छन् । यदि असदले आफ्नो पूर्वघोषणा अनुसार पूरै देशमा शासन फर्काउने योजना बनाए भने मूठभेडको अवस्था निम्तन सक्छ ।

उनका सैनिकहरू सिरियाली कुर्दिस योद्धाहरूसँग कडा रूपमा प्रस्तुत हुनेछन् । लामो समय आईएससँग लडेका कुर्दिस सेनाहरू अमेरिकाले कतिन्जेल समर्थन गर्छ भन्ने दुविधामा छन् । आईएससँग त अस्थिपञ्जर मात्रै बाँकी छ । यस देशमा अब असद एक्लैले शासन गर्छन् वा अमेरिकी समर्थन प्राप्त एसडीएफले पनि केही हिस्सा पाउँछ, यकिन छैन ।

मार्च २०११ मा अरब विद्रोहका नाममा सुरु भएको समस्याले सिरियालाई तहस–नहस बनाए पनि असदको सत्ता हल्लाउन गाह्रै पर्ने देखिएको छ । असदको सत्ता फेर्ने उद्देश्य बनाएका आन्दोलनकारीहरू आईएसआईएससँग लड्दा–लड्दै थाकिसकेका छन् । राकाका थुप्रै घरहरू भूतबङ्गलामा परिणत भइसके । ७ वर्षसम्म मानव बधशालाका रूपमा रहेको यो सहर शून्य छ । आईएसले विरोधीहरूलाई झुन्ड्याउन थालेपछि यस सहरमा हिंसाले चरम रूप लिएको थियो । हुँदा–हुँदा विरोधीहरूको टाउको सार्वजनिकस्थलमै गिड्न थालियो । अमेरिकी पत्रकार जेम्स फोले र स्टेफेन सटलोफको हत्या गरेर त्यसको भिडियो टेप सार्वजनिक गरेपछि आईएसका खराब दिन सुरु भए । त्यसपछि सन् २०१४ को सेप्टेम्बरमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले सैनिक पठाए ।

अमेरिकासहित गठबन्धन सेनाले इराकी तथा सिरियाली सैन्य दस्तालाई सहयोग गर्ने नाममा सुरु गरेको हवाई अपरेसनपछि  स्थानीयवासीहरू घर छाडेर हिँड्न बाध्य भए । सहर खाली हुँदै गयो । गत अगस्टमा मात्रै अमेरिकी सेनाले यहाँ ५ हजार ७ सय ७५ वटा बम, सेल र मिसाइल खसाल्यो । नतिजा, राकाको विध्वंश पूरा भयो । बाँचेकाहरूले पनि ज्यान गुमाए ।

युद्धमा ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या यति नै छ भनेर पत्ता लगाउन मुस्किल छ । लन्डनस्थित पर्यवेक्षयक संस्था एयरवार्सका अनुसार अगस्ट महिनामा मात्रै  ४ सय ३३ सर्वसाधारणले अमेरिकी नेतृत्वको हवाई हमालामा ज्यान गुमाएका हुनसक्छन् । अमेरिकी नेतृत्वको गठबन्धनका प्रवक्ता कोलोनेल रायन डिलनले एयरवार्सले सार्वजनिक गरेको रिर्पोटका विषयमा सेनाले अझै विश्लेषण गर्न नसकेको बताए । आईएसआईएस विरुद्ध सिरियाली सैन्य दस्ताका तर्फबाट लडेका बेलायती अभिनेता माइकल इनराइट युद्धका अन्तिम दिनहरूमा को सर्वसाधारण र को लडाकू भनेर छुट्याउने फुर्सद कसैलाई थिए । ‘सबैजना गोली बोकेर बसेका हुन्थे । त्यति नै बेला अमेरिकी सेनाको हवाई हमला हुन्थ्यो । निर्दोष परे या आईएस छुट्याउन मुस्किल हुन्थ्यो । यस्तो परिस्थितिमा नैतिकता नै समस्या थियो ।’
 
अझै बाँकी छ आतङ्कवादको त्रास

क्यालिफेट पतन भए पनि आईएस बाँकी नै छ । इराक र सिरियामा अझै पनि लामो समयसम्म यो आतङ्की समूह भूमिगत रूपमा सक्रिय रहिरहन सक्छ । यसले सर्वसाधारणमाथि आक्रमण गर्ने तथा विपक्षी सैन्य दस्तालाई लामो समय तनाव दिने अनुमान गरिएको छ । कुनै समय इस्लामिक राज्य बनाउने उद्देश्य राखेको आईएसको नीति फेरिएको छ । अब यो समूह ‘बाँच्ने र फैलने’ योजनामा छ ।

तालिम प्राप्त सेना वा आत्मघाती हमालाकारीको माध्यमबाट आईएसले अझै लामो समय विश्वका थुप्रै देशमा आक्रमण गर्नसक्ने आशङ्का गरिएको छ । इस्लामिक स्टेटको भूभाग भ्रमण गरेर कम्तीमा पनि ३३ देशका ५ हजार ६ सय व्यक्ति  आफ्नो देश फर्किएको अनुमान  न्युयोर्कस्थित राजनीतिक विश्लेषण कम्पनी सोउफन सेन्टको छ । यी व्यक्तिहरू सम्बन्धित देशका लागि आत्मघाती साबित हुनसक्छन् । सन् २०१६ मा आईएसका नेताहरूले विदेशी सेनाहरूलाई सिरिया र इराक नआउन सचेत गराएका थिए । त्यसको बदलामा उनीहरूले ती देशमै आक्रमण गरे ।

अमेरिकाले के पायो ?
सबैभन्दा ठूलो प्रश्न यही हो । यसको जवाफ न अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छ, न त सिरियामा सेना पठाउने पूर्व राष्ट्रपति बाराक ओबामासँग नै । के साँचो हो भने ओबामा प्रशासनले अख्तियारी गरेको असदलाई सत्ताच्यूत गर्ने नीति असफलप्रायः भइसकेको छ । राष्ट्रपति पदमा विजयी हुँदा ट्रम्पले सिरियामा हस्तक्षेप नगर्ने घोषणा गरेका थिए । तर घोषणा कार्यान्वयन गर्न उनलाई पनि सहज छैन किनकी अमेरिकी सैनिक पछि हट्दा सिरियामा थप अस्थिरता फैलने त्रास छ ।

एसडीएफलाई नै लामो समयसम्म अमेरिकाको समर्थन प्राप्त हुने विश्वास छैन ।  यस्तो अविश्वास कुर्दिस सैन्य दस्ताले राकामा विजय जुलुस मनाउदा देखियो ।  सैनिकहरूले कुर्दिस वकर्स पार्टीका संस्थापक अब्दुल्लाह ओकालनको पोस्टर अङ्कित ब्यानर प्रदर्शन गरे । अमेरिका आफैंले आतङ्ककारी घोषणा गरेका यी नेता टर्कीको जेलमा छन् । यस घटनापछि रुष्ट बनेको टर्कीले वासिङटनसँगको सम्बन्धमा थप दरार आउने चेतावनी दिइसकेको छ । कुनै समय सिरिया द्वन्द्वमा अमेरिकाको साथमा रहेको टर्कीले अहिले गठबन्धन फेरेर रुसलाई साथ दिइरहेको छ ।

यस्तो परिस्थितिमा ओकालनको पोस्टर प्रदर्शन अमेरिकाका लागि पक्कै राम्रो सङ्केत होइन । अमेरिकाले आफ्ना साथीहरूसँग गुमाएको विश्वास र इस्लामिक स्टेट सकिएपछिको समस्याको सङ्केतका रूपमा यस पोस्टरलाई लिइएको छ । इराकमा पनि अमेरिकाको हालत उस्तै छ । उसले इराकी सरकार तथा विपक्षीहरूले बनाएको समानान्तर कुर्दिस्तान सत्तासँग सहकार्य गरिरहेको छ । आईएस खतम गर्नका लागि यो सहकार्य गरिएको थियो । तर मिसन लगभग पूरा भइसकेको अवस्थामा खतरा इराकमा पनि छ ।

सिरिया तथा इराक गृहयुद्धको नयाँ अध्याय के हुनेछ ? जवाफ अमेरिकासँग पनि छैन । ‘अमेरिकाले सिरिया र इराकमा त्यतिबेला मात्रै वास्तविक जित हात पार्नेछ । जतिबेला उसले आईएसलाई उन्मूलन गरेर शान्ति र स्थिरता सिर्जना गर्नेछ,’ अन्तर्राष्ट्रिय शिक्षा तथा रणनीति केन्द्रका अध्यक्ष अर्लिग ए बुर्क भन्छन्, ‘अहिलेको अवस्थामा अमेरिकासँग यी दुवै देशका विषयमा स्पष्ट योजना छैन ।’

सिरियामा अहिले पनि ९ सय अमेरिकी सैनिक तैनाथ छन् । राष्ट्रपति बसर अल असदको स्विकृतिबिना नै तैनाथ गरिएका यी सेनामाथि सरकारी सेनाले कुनै पनि समय आक्रमण गर्नसक्छ । आतङ्ककारीको त्रास उस्तै छ । तर तत्काल सेना फिर्ता बोलाउने परिस्थिति छैन ।

एसडीएफ र अमेरिकी सेना कमजोर भएको अवस्थामा खाली मैदान उपयोग गर्दै आईएस वा अन्य आतङ्की सङ्गठनल शक्तिमा फर्कने  खतरा छ । यस विषयमा अमेरिकी प्रशासनले स्पष्ट धारणा बाहिर ल्याउनुपर्ने सिरियामा परिचालित सैन्य अधिकारीहरू बताउँछन् । ट्रम्प प्रशासनको मौनताले उनीहरू आफै दुविधामा छन् ।
राकामा द्वन्द्व सकिएको छ । तर भग्नावशेष हटाएर सहरलाई पुरानै अवस्थामा फर्काउन समय लाग्नेछ ।

धेरैजसो घरहरूमा आईएसले लुकाएर राखेका एके–४७ का गोली, बन्दुक तथा विस्फोटक सामग्रीहरू भेटिन्छन् । धुवाँ बनेर युद्धको प्रतिध्वनि झ्याल ढोकाबाट निस्किरहेको छ । घरभित्र फसेका लाश वरपर झिँगा फैलिएको छ । ऐतिहासिक बग्दाद गेट आसपास लडाकू तथा सर्वसाधारणका अस्थिपञ्जरहरू छरिएका छन् । उनीहरूको शरीरका मासु भोका कुकुरहरूले खाइसके ।

(टाइम्स म्यागेजिनका लागि एलिजावेथ डायसले गरेको रिपोर्टिङको सारांश)

प्रतिक्रिया दिनुहोस