काठमाडौं। नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको भन्ने महालेखा परीक्षकको प्रतिवेदनलाई चुनौती दिएका छन् । प्राविधिक परीक्षण नै नै नगरी प्रतिवेदनमा जथाभावी लेखिएको उनले बताए ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिसँग सोमवार पोखरामा भएको छलफलमा महानिर्देशक अधिकारीले महालेखाको प्रतिवेदनले मुलुकमा संवैधानिक अराजकता निम्त्याएको बताएका हुन् । कुनै सार्वजनिक संस्थानको महानिर्देशकले महालेखाको प्रतिवेदनलाई संसदीय समिति समक्ष चुनौती दिएको यो दुर्लभ घटना हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सोमवार पोखरामा विमानस्थलको विभिन्न पक्षबारे नागरिक उड्यन प्राधिकरणका अधिकारी र सरोकारवालासँग छलफल गरेको थियो । ‘महालेखाले प्राविधिक ज्ञान नराखी जथाभावी प्रतिवेदन बनाएको छ । पत्रपत्रिकामा आएका कुरा र सो प्रतिवेदनका आधारमा माननीयहरूले कुरा गर्नुभएको भएको हो भने त्यसमा सत्यता छैन । भ्रममा नपर्नु होला’ अधिकारीले संसदीय छानबिन समितिसँग भने, ‘महालेखाको प्रतिवेदनले देशमा संवैधानिक अराजकता निम्त्याउन खोजेको छ ।’
अधिकारीले विमानस्थलको प्राविधिक अडिट गर्ने व्यक्ति र महालेखाका प्रतिनिधिसँग आफूले देशव्यापी रूपमा लाइभमा छलफल गर्न तयार रहेको संसदीय समितिसँग बताएका थिए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल कम लागतमा निर्माण भएको देशको गौरव गर्न लायक आयोजना भएको बताएका थिए ।
लिङदेन संयोजकत्वको उपसमितिमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी, एमालेका गोकुल बास्कोटा, माओवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एसका प्रेम आले लगायत सदस्य छन् । समितिले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरेर फर्किएको छ ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदनलाई आधार बनाएर सांसदहरूले अधिकारीलाई प्रश्न सोधेका थिए । विमानस्थलको रन–वेको पूर्वतर्फ रहेको छिने डाँडाको उचाइ ३० मिटर काट्नु पर्नेमा ४० मिटर काट्ने गरी रनवे धसाइएको हो ? भनेर सांसदहरूले प्रश्न सोधेका थिए ।
जवाफमा अधिकारीले विमान उडान र अवतरणलाई अझ सुरक्षित बनाउनका लागि डाँडाको थप १० मिटर काटिएको बताए । विमानस्थलका कारण ४ अर्ब ३४ करोड लगानीमा बनाइएको खाने पानीको ट्याङ्की भत्काउनु परेको बारेपनि सांसदहरूले प्रश्न गरेका थिए ।
पोखरामा अन्तक्रिर्या गर्दै संसदीय उपसमिति
विमानस्थलको काम सन् २०१७ मै शुरु भएपनि खानेपानीको ट्याङ्की निर्माणको काम सन् २०१८ मा शुरु भएको अधिकारीले बताए । ‘एउटा दुईतले घर बनाउन त नक्सा पास गर्ने महानगरले विमानस्थललाई प्रभावित हुनेगरी ट्याङ्की बनाउन दिनु कत्तिको उचित हो ? महानगरले गरेको दोषको भागि दार हामी हुनुपर्ने ?’ अधिकारीले प्रतिप्रश्न गरे ।
थप विषयमा छलफल गर्नुपर्ने भए समितिमा बोलाउने भन्दै संयोजक लिङदेनले भनेपछि अधिकारी संसदीय समितिसँग विदा मागेर काठमाडौं फर्किएका थिए । संसदीय टोलीले विमानस्थल र डाँडा काटिएको भेगको समेत अवलोकन गरेको थियो ।
प्रतिवेदनको सम्बन्धमा अधिकारीले महालेखा परीक्षकको कार्यालयमै गएर असन्तुष्टि राखेका थिए । प्राविधिक परीक्षण नै नगरी महालेखाले प्रतिवेदन लेख्ने प्रवृत्ति हावी भएमा भविष्यमा विकास निर्माणको काम ठप्प हुने र काम गर्न कोही तयार नहुने संसदीय समिति समक्ष कुरा राखेका थिए ।
अधिकारीको कुरालाई गम्भीर रूपमा लिएको समितिका एक सदस्यले बताए । ‘उहाँले जुन कन्फिडेन्टका आधारमा विमानस्थल निर्माणमा अनियमितता भएको छैन भनेर आफ्ना कुरा राख्नु भयो । यस विषयमा हामीले महालेखाका अधिकारीसँग पनि छलफल गछौं’ ती सांसदले भने ।निर्माण सम्पन्न भएपछि २०७९ पुस १७ गते अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, १४ : ४१
लेखकबाट थप