अध्यादेश जारी गर्ने बारेमा राष्ट्रपति कार्यालयमा छलफल

शुक्रबार, १४ पुस २०७४, १० : ५४
अध्यादेश  जारी गर्ने बारेमा  राष्ट्रपति कार्यालयमा छलफल

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आजै जारी गर्ने/नगर्नेबारे राष्ट्रपति कार्यालयमा अहिले छलफल जारी छ । राष्ट्रपति कार्यालयका एक अधिकारीेले दिउँसो १२ बजेसम्म अध्यादेश जारीबारे टुंगो लाग्ने जानकारी दिए ।

‘घनिभूत छलफल भइरहेको छ, दिउँसो १२ बजेसम्म टुंगो लाग्छ,’ ती अधिकारीले भने । अध्यादेशका विषयमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेकी थिइन् ।

सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो । मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान थियो ।

मंसिर १० र २१ गतेको चुनावबाट राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम सुरुदेखि नै एकल संक्रमणीय अाधारमा चुनाव हुनु पर्ने पक्षमा थिए । पछिल्लो समय माओवादी केन्द्र पनि एकल संक्रमणीय प्रणालीका पक्षमा उभिएको थियो ।
अन्य सबै दल एकल संक्रमणीयका पक्षमा उभिएपछि एमाले पनि यही कारण राजनीतिक गतिरोध लम्ब्याउन नहुने निष्कर्षमा पुगेको छ ।
दलहरुबीच सहमति नभएको भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस